काठमाडौं– प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठले न्यायाधीश नियुक्तिका लागि छलफल सुरु गरेका छन्। प्रधानन्यायाधीश श्रेष्ठले सर्वोच्चबाट न्यायाधीश नियुक्ति सुरु गर्न चाहेपछि आकांक्षीहरुको दौड पनि सुरु भएको छ।
सर्वोच्च, उच्च अदालतको मुख्य न्यायाधीश, उच्च अदालतको न्यायाधीशदेखि जिल्ला अदालतको न्यायाधीशसम्म नियुक्तिको तयारी परिषद्ले गरेको छ।
भर्खर सर्वोच्चको जिम्मेवारी सम्हालेका कारण श्रेष्ठ विवादरहित रुपमा न्यायाधीश नियुक्ति गर्ने तयारीमा छन्।
उनले कानुनमन्त्री धनराज गुरुङ, न्यायपरिषद्का वरिष्ठ सदस्य ईश्वरप्रसाद खतिवडा र परिषद्का दुई सदस्यहरुसँग अनौपचारिक रुपमा छलफल गरिरहेका छन्। प्रधानन्यायाधीशसँगै रहेका वरिष्ठ न्यायाधीश खविवडा र परिषद्का अन्य सदस्य भने सबै तहमा एकै पटक सिफारिस गर्ने पक्षमा छन्।
न्यायपरिषद्का प्रवक्ता मानवबहादुर कार्कीले न्यायाधीश नियुक्तिका बारेमा अनौपचारिक छलफल भइरहे पनि औपचारिक नभएको र केही दिनमा परिषद्को बैठक बसेर हुने बताए। कानुनमन्त्री धनराज गुरुङले पनि करिब एक सयभन्दा धेरै न्यायाधीश रिक्त भएकाले छिट्टै हुने र परिषद् अध्यक्ष एवं प्रधानन्यायाधीशसँग कुराकानी भइरहेको स्वीकार गरे।
उनले केही दिनमा सिफारिस हुने र यसपटकको सिफारिस विवादरहित हुने पनि दाबी गरे।
पहिला सर्वोच्च कि उच्चको मुख्य न्यायाधीश?
परिषद्मा अहिले सर्वोच्च अदालतमा पहिला सिफारिस गर्ने कि उच्च अदालतको मुख्य न्यायाधीश भन्ने छलफल अनौपचारिक रुपमा सुरु भएको स्रोतले बताएको छ।
हाल उच्च अदालत दिपायलमा मुख्य न्यायाधीशको रुपमा नृपध्वज निरौला रहेका छन् भने अन्य उच्च अदालत नेतृत्वविहीन छन्। सर्वोच्चमा सिफारिसका लागि पनि मुख्य न्यायाधीश नियुक्ति गर्ने अनि त्यहिँबाट सर्वोच्च ल्याउनुपर्ने एकथरीको राय छ।
तर, प्रधानन्यायाधीश र केही सदस्य भने मुख्य न्यायाधीशको योग्यता पुगेका मध्येबाट सर्वोच्चमा सिफारिस गर्ने अनि मुख्य न्यायाधीश नियुक्ति गर्ने पक्षमा छन्। यसरी नियुक्ति गर्दा सिधा हुने र उच्च अदालतमा थप सिट खाली हुने उनीहरुको आकलन छ। त्यस्तै सर्वोच्च अदालतमा संविधान अनुसार २१ जना न्यायाधीश हुनुपर्नेमा १४ जना कार्यरत रहेको र विनोद शर्माको नाम संसदीय सुनुवाइ समितिमा पुगेको छ।
यसरी हेर्दा ६ जनाको पद रिक्त रहेको छ। त्यसमध्ये अनिलकुमार सिन्हाले केही समयपछि अवकाश पाउने भएकाले उनको स्थानमा तत्कालै अर्को व्यक्तिको सिफारिस गर्न मिल्ने देखिन्छ। संविधानले एक महिनाअघि सिफारिस गर्न सक्ने अधिकार दिएकाले ७ जना सर्वोच्चमा सिफारिस हुनसक्ने देखिन्छ।
सात जनाको सिफारिस भएमा ४ जना क्याडर न्यायाधीश(मुख्य न्यायाधीश) र ३ जना कानुन व्यवसायीवाट नियुक्ति गर्ने पक्षमा बहुमत सदस्य देखिन्छन्। सर्वोच्चको हकमा कानुन व्यवसायीलाई पन्छाएर जाँदा राजनीतिक र नेपाल बार एशोसियसनको दबाबका कारण नसकिने भएकाले यसमा मिलाएर योग्यतम व्यक्तिलाई ल्याउने पक्षमा प्रधानन्यायाधीश श्रेष्ठ पनि रहेका छन्।
सर्वोच्चका लागि मुख्य न्यायाधीशबाट सिफारिस हुनसक्ने चर्चामा नृपध्वज निरौला, सत्यमोहन जोशी, सारङ्गा सुवेदी, रत्नबहादुर वागचन्द र माधव पोखरेल छन्। यी मध्ये सुवेदी र वागचन्दको सम्भावना समावेशीका कारण पनि धेरै देखिन्छ। निरौला एकमात्र मुख्य न्यायाधीश भएकाले उनी पनि सर्वोच्च आउने दौडमा छन्।
कानुन व्यवसायीबाट भने प्रमुख तीन दल निकट कानुन व्यवसायीहरुको नाम चर्चामा छ। राजनीतिक वृत्तबाट चर्चामा महान्यायाधिवक्ता दिनमणी पोखरेल, यसअघि सिफारिस भएका डिएन पराजुली, पूर्व महान्यायाधिवक्ता रमेश बडाल, बारका पूर्व महासचिव सुनिलकुमार पोखरेललगायतका नाम चर्चामा रहेका छन्।
विज्ञ व्यक्ति ल्याउन सुझाव
सर्वोच्च अदालत उच्च अदालत जस्तो सिक्ने वा त्यहाँ आएपछि जान्ने ठाउँ नभएकाले सुरुमै नियुक्ति गर्दा योग्य र विज्ञहरुलाई ल्याउन पूर्व न्यायाधीशहरुको सुझाव छ। सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीले सर्वोच्चको न्यायाधीश भनेको कुनै क्षेत्रमा विज्ञता हासिल गरेको व्यक्ति र परिपक्व व्यक्ति सिफारिस हुनुपर्ने बताए।
देशभर साइबर कानुनको मुद्दाहरु हेर्न अदालतलाई अधिकार दिएको र अहिले सूचना प्रविधिको विकास पनि तीव्र गतिमा हुँदैगर्दा अपराधहरु पनि यही रुपमा बढेकाले यो क्षेत्रको विज्ञ वा यसका पीएचडी गरेको व्यक्तिलाई सर्वोच्चमा ल्याउनुपर्ने उनको सुझाव छ। त्यस्तै केही समयपछि अनिलकुमार सिन्हाले अवकाश पाउने भएकाले बैंकिङ कसुर, कम्पनी ऐन र वाणिज्यसम्बन्धी विज्ञलाई पनि स्थान दिनुपर्ने उनको सुझाव छ।
सर्वोच्चमा नियुक्ति गर्दा अनुभव, मुद्दालाई सहज रुपमा बुझ्ने र न्याय गर्नसक्ने हिम्मत भएको व्यक्ति सिफारिस हुनुपर्ने उनको भनाइ छ।
कानुन व्यवसायीवाट
माओवादी
दिनमणी पोखरेल महान्यायाधीवक्ता
डिएन पराजुली यसअघि सिफारिस
नेकपा एमाले
रमेश बडाल
महेश पौडेल
नेपाली कांग्रेस
सुनिलकुमार पोखरेल
खम्वबहादुर खाती
यदुनाथ खनाल
उच्च अदालत न्यायाधीश
सारङ्गा सुवेदी
रत्नबहादुर वागचन्द
नृपध्वज निरौला
माधवप्रसाद पोखरेल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।