काठमाडौं– नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्तिको लागि आवेदन माग गरिएको छ। सीईओ नियुक्तीका लागि गठित सिफारिस समितिले सोमबार आवेदन माग गरेको हो।
नेपाल स्टक एक्स्चेन्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने भएको छ। योग्यता भएका इच्छुक नेपाली नागरिकबाट यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले सात दिन भित्र कार्यालय समयमा अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन दिन सक्नेछन्।
सीईओ बन्नका लागि अर्थशास्त्र, वाणिज्य शास्त्र, वित्त शास्त्र, व्यवस्थापन सूचना प्रविधि वा वाणिज्य वा कानून विषयमा मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउण्टेन्सी वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्नेछ। यसमा पुँजी बजार वा वित्तीय क्षेत्र वा व्यवस्थापन सम्बन्धी कार्यमा कम्तीमा सात वर्ष उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभव सहित कम्तीमा पन्ध्र वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ।
तीस वर्ष उमेर पूरा भई पैँसट्ठी वर्ष उमेर ननाघेकोले आवेदन दिन सक्नेछन्। नेप्सेको सीईओ पदको लागि आवेदन तथा व्यावसायिक कार्य योजना उल्लेख गरी दस्तखत गरेको हुनु पर्नेछ। आवेदन दस्तुर बापत सात हजार पाँच सय रुपैयाँ बुझाएको सक्कलै भौचर समेत पेस गर्नु पर्नेछ।
प्रमुख कार्यकारी अधिकृतले पाउने मासिक पारिश्रमिक, भत्ता तथा अन्य सुविधा नेपाल सरकारको स्वीकृतिमा नेपाल स्टक एक्स्चेन्ज लिमिटेडले तोके बमोजिम हुने सूचनामा उल्लेख छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।