काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमणका सन्दर्भमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ३ बुँदे सुझाव दिएका छन्।
भट्टराईले सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्रीलाई सुझाव दिएका हुन्। प्रधानमन्त्री प्रचण्डले आफ्नो चीन भ्रमणबारे जानकारी गराउन र सुझाव लिन भन्दै आइतबार सिंहदरबारमा सर्वदलीय बैठक बोलाएका थिए। ‘विविध कारण’ले उक्त सर्वदलीय बैठकमा उपस्थित हुन नसकेको भन्दै भट्टराईले सामाजिक सञ्जालमार्फत् सुझाव दिएका हुन्।
चीन भ्रमणको सन्दर्भमा तत्कालका लागि पहिले भएका सहमति कार्यान्वयन गर्ने कुरामा जोड दिनुपर्ने भट्टराईको सुझाव छ। यस्तै, चीनको विशाल बजारसँग जोडिने भौतिक तथा अन्य पूर्वाधार छिटो निर्माण गर्ने कुरामा विशेष जोड दिनुपर्ने भट्टराईको सुझाव छ।
पूर्वप्रधानमन्त्री भट्टराईले परराष्ट्र सम्बन्धको विषयमा राष्ट्रिय सहमति कायम गर्ने र त्यसलाई सबैले सधैं पालना गर्ने परम्परा बसाल्नुपर्ने बताएका छन्।
एसिया नै मुख्य केन्द्र हुने गरी नयाँ शीतयुद्ध (उष्णयुद्ध)को बादल मडारिन लागेको उल्लेख गर्दै भट्टराईले अबको सिर्जना हुने अवस्थितिको सामना गर्न नेपालले राष्ट्रिय हित अनुकूलको रणनीति तय गर्नुपर्ने बताएका छन्।
भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्– विविध कारणले प्रधानमन्त्रीले बोलाउनुभएको परामर्श बैठकमा उपस्थित हुन नसकेकोमा क्षमाप्रार्थी हुँदै प्रमको आसन्न चीन भ्रमणबारे मेरा सुझाव यसरी व्यक्त गर्न चाहन्छुः
१. बहुदलीय लोकतन्त्रमा दलहरुबीच अरू विषयमा मत भिन्नता भए पनि परराष्ट्र सम्बन्धको विषयमा राष्ट्रिय सहमति कायम गर्ने र त्यसलाई सबैले सधैं पालना गर्ने परम्परा बसालौँ। दलीय, गुटीय र निजी स्वार्थ निम्ति राष्ट्रिय हित विपरीत कसैले पनि कुनै पनि विदेशी शक्तिसँग खुला वा अपारदर्शी सहमति/सम्झौता नगरौँ।
२. एसिया नै मुख्य केन्द्र हुनेगरी मडारिन लागेको नयाँ शीतयुद्ध (वा उष्णयुद्ध?) को सन्दर्भमा नेपालले आफ्नो विशिष्ठ भू-सामरिक अवस्थितिलाई ध्यान दिँदै नेपालमा भारतको सुगौली सन्धिदेखिको प्रभुत्वलाई कायम गर्ने चाहना, चीनको नयाँ विश्वशक्तिको रूपमा यस क्षेत्रमा पनि प्रभाव विस्तार गर्ने चाहना र अमेरिका-यूरोप-जापानको चिनियाँ प्रभावलाई यस क्षेत्रमा विस्तारित हुनबाट रोक्ने चाहनालाई गहीरोसँग पर्गेलेर हामीले आफ्नो राष्ट्रिय हित अनुकूलको रणनीति तय गर्नुपर्दछ!
हामीले एकातिर कसैको परम्परागत प्रभुत्वलाई अन्त्य गरेर आफ्नो पूर्ण स्वाधीनता/सार्वभौमिकता/भौगोलिक अखण्डता कायम गर्नु छ भने अर्कोतिर कराइबाट उम्केर भुंग्रोमा खस्ने खतराबाट पनि मुक्त हुनु छ। यो डोरीमाथिको हिंडाइ नै आजको हाम्रो एकातिर ठूलो चुनौती र अर्कोतिर ऐतिहासिक अवसर दुवै हो। यसनिम्ति यथाशीघ्र देशका शीर्षस्थ नेताहरू र विविध क्षेत्रका विज्ञहरूको विचार मन्थनबाट राष्ट्रिय रणनीति तय गरौं र जनप्रतिनिधि तथा आम जनसमुदायको समेत सुझाव र सहमतिमा दृढतापूर्वक कार्यान्वयन गरौं।
३. तत्काल चीन भ्रमणको सन्दर्भमा पहिले भएका सहमति कार्यान्वयन गर्ने र मुख्यतः चीनको विशाल बजारसँग जोडिने भौतिक तथा अन्य पूर्वाधार छिटो निर्माण गर्ने कुरामा विशेष जोड दिउँ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।