काठमाडौं- कवि श्यामलको लागि सरल भाषामा बुनिएको जटिल प्रश्न थियो, ‘कविता किन लेख्ने?’
सहजकर्ता ठाकुर बेलबासेको यो प्रश्नमा श्यामलले प्रतिप्रश्न गर्दै भने, ‘म तपाईंलाई सोध्छु, तपाईं कहिलेकाहीँ रुनुहुन्छ। किन रुनुहुन्छ? कहिलेकाहीँ हाँस्नुहुन्छ, किन हाँस्नुहुन्छ? कहिलेकाहीँ उत्तेजित हुनुहुन्छ, किन हुनुहुन्छ? यसको कुनै रेडिमेड जवाफ छैन। तर त्यो घटित हुन्छ।’
ललितपुरमा आयोजित काठमाडौं कलिङ साहित्य महोत्सवको दोस्रो दिन ‘कविता किन लेख्ने’ सेसनमा वक्ताहरू थिए, कवि श्यामल, विप्लव प्रतीक, रमेश क्षितिज र ज्योति जंगल। चारै कविलाई सहजकर्ताले साझा प्रश्न तेर्स्याएका थिए।
श्यामल भन्दै थिए, ‘तपाईंले अगुल्टो हान्दा कुकुर जसरी क्वाइँ क्वाइँ भुक्छ नि। उसले जे अनुभूत गरेको छ, मानिसले त्यसको चौगुणा अनुभूत गर्छ। मलाई लाग्छ कविता लेख्ने मानिसहरू बच्चा भएजस्तै हो। म कविता किन लेख्छु, जसरी एउटा बच्चा रुन्छ। जसरी कुनै खास घटनाले म द्रवित हुन्छु। हाँस्छु, रुन्छु। तर म जसरी बच्चा रोयो त्यसरी कविता लेख्दिनँ। त्यो अनुभूतिले लामो समयसम्म कलाको रुप नलिएसम्म कविता लेख्दिनँ।’
त्यसपछि श्यामलले आफूले कविता लेख्नुको अन्तर्य खोल्दै गए। भने, ‘मैले राम्रा कविता लेख्नेहरू देखेको छु। तिनले मानिसलाई सोच्ने बनाएका छन्। द्रवित बनाएका छन्। रुवाउने र उत्तेजित बनाउने शक्ति राखेका छन्। त्यसैले त्यस्तै शक्ति ममा पनि उत्पन्न भएर लेख्न सक्छु भन्ने भयो। र विस्तारै विस्तारै लेखेँ। अब मेरो आवश्कयता बन्न थाल्यो...।’
श्यामलका तर्कमा कहिले पढ्दै नपढ्ने नेताहरू पनि कविताका पंक्ति गुन्गुनाउँछन्। जोसँग कुनै रस छैन। यद्यपि उनीहरूले जनतालाई प्रभावित पार्नुछ।
श्यामल ती कविहरूलाई धन्यवाद दिन चाहन्छन्, जसका कविता पढेर उनी हुर्किए। जसका कविताले उनलाई सिन्चित गरे। श्यामल ‘हतारमा यात्रा’ संग्रहमा संग्रहित आफ्ना केही कविता सम्झन्छन्, जसले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मानिसहरूलाई प्रभाव पारे।
०००
कवि रमेश क्षितिज सुरुमा कविता लेख्दै गर्दा कविता लेख्ने आफ्ना एक साथी सम्झन्छन्।
जसले उनलाई भनेका थिए, ‘तिमीले लेखेको कविता भएन। कविता त देश र समाज बदल्ने हुनुपर्छ।’ तर देश बदल्न कविता लेख्छु भन्ने ती साथी अहिले कविता लेखनको यात्राबाट छुटिसके। लेखनको सुरुवाती दिनमा उनले आदर गर्ने एकजना कविसँगको संगत उनलाई सर्वथा याद छ। उनले ती कविलाई पढेको एउटा कविताबारे वर्णन गर्दै भने, ‘तपाईंले कस्तो राम्रो लेख्नुभयो।’
ती कविले स्वभाविक भावमा जवाफ दिए, ‘ए। मैले त्यस्तो लेखेको छु? म अक्सर लेख्ने गर्छु।’
त्यो शब्द अहिले पनि कविताका प्रसंगमा रमेश सम्झिरहन्छन्। ‘कविता किन लेख्ने’ भन्ने प्रश्नमा फर्किएर रमेशले जवाफ दिए, ‘म कविता कुनै प्रयोजनका लागि लेख्दिनँ। अनुभूतिका लागि लेख्छु।' उनलाई लामो संगत गरेका एकजना साथीले एकदिन भनेका छन्, तिमीलाई कविताले बचाएको रहेछ।’
रमेश क्षितिजलाई लाग्छ, ‘कविता आफैंमा भावनात्मक कुरा हो। किन लेख्छौं भन्ने प्राविधिक विषय हो।’
‘मौरीले मह किन बनाउँछ भन्ने खालको प्रश्न हो यो।किन लेख्छु भन्ने ठोस जवाफ छैन,’ रमेश भन्छन्।
कविता किन लेख्ने भन्ने प्रश्नको उत्तर न कवि विप्लव प्रतीकसँग छ न ज्योति जंगलसँग। विप्लव भन्छन्, ‘मसँथ त्यसको उत्तर छैन। मलाई आएको त्यही हो। म कुकिङमै पोयट्री देख्छु।’
कवि ज्योति जंगल कविता चेतनामा उठेका विभिन्न तरंगलाई अनुभूतिको तहबाट लेख्दै आएकी छन्। ‘कविता म आफ्नो लागि लेख्छु,’ उनी भन्छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।