काठमाडौँ– अभिनेता सारुक ताम्राकारले अभिनय गरेका अन्तिम चलचित्र ‘ह्यासट्याग माया’ अब नबन्ने भएको छ। फिल्मका केही दृश्यलाई समेटेर फिल्मका निर्देशक राजिव गुरुङले म्युजिक भिडिओ तयार पारेका छन्।
निर्देशक गुरुङले सारुकको अन्तिम इच्छा फिल्म नै भएता पनि अब त्यो सम्भव नभएको बताए।
‘हामीले चलचित्र पूरा गर्न सकेनौँ। तर, सारुकको कामलाई समेटेर उसलाई मन परेको गीतमा ती दृश्यलाई राखेर म्युजिक भिडिओ तयार गरेका छौँ। हाम्रो तर्फबाट सारुकलाई यो श्रद्धाञ्जली हो,’ उनले भने, ‘ऊ नरहेता पनि उसको काम हामी माझ रहिरहने छ।’
गीतमा अभिनेता ताम्राकारसँगै निकिता आचार्य, महेश मगर, सागर परियारले अभिनय गरेका छन्। बर्दियामा खिचिएको दृश्य भिडिओमा समेटिएको छ।
कार्यक्रममा अभिनेता ताम्राकारको आमा रुकमणि ताम्राकार पनि उपस्थित थिइन्।
सारुककी आमा रुकमणिले आफ्नो छोराले निकै मेहेनतका साथ गरेको कामलाई म्युजिक भिडिओकै माध्यमले सार्वजनिक गरिदिएकोमा धन्यवाद व्यक्त गरिन्। ‘सारुकले यो चलचित्रको लागि तीन वर्षदेखि समय दिएको थियो। यसलाई ठूलो पर्दामा हेर्न नपाएता पनि यहाँ हेर्न पाउँदा खुशी लाग्यो,’ उनले भनिन्।
उनले छोराकै मृत्यु वियोगका कारण पति सानु ताम्राकार अस्पताल भर्ना हुनुपरेकाले कार्यक्रममा उपस्थित हुन नसकेको जानकारी गराइन् । उनले सारुकलाई लिएर सामाजिक सञ्जाल र विभिन्न अड्कलबाजी भइरहेकाले अनुसन्धानमा खटिएका प्रहरीलाई छिटै सत्यतथ्य सार्वजनिक गरिदिन समेत आग्रह गरिन्।
अभिनेता ताम्राकारले ‘मेरी मामू’, ‘इन्टु मिन्टु लन्डनमा’ लगायतका चलचित्रमा अभिनय गरेका छन् । अभिनेता ताम्राकारले गत असार २१ गते रातोपुलस्थित आफ्नै निवासमा आत्महत्या गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।