काठमाडौं– रुसको निजी सैनिक कम्पनी ‘वागनर समूह’का प्रमुख येवगेनी प्रिगोजिन एउटा विभान दुर्घटनामा मारिएका आशंका गरिएको छ। एउटा निजी विमान दुर्घटना हुँदा १० मारिएका छन्। जसमा प्रिगोजिन पनि सवार रहेका बताइएको छ।
भाडाका सैनिक ‘वाग्नर समूह’सँग जोडिएको सामाजिक सञ्जालले प्रिगोजिन सवार निजी विमानलाई रुसी वायु सुरक्षाले खसालेको बताएको छ।
ग्रे जोन टेलिग्राम च्यानलले ‘रूसका देशद्रोहीहरूको कार्यको परिणामस्वरूप’ प्रिगोजिन मारिएको भन्दै एउटा सन्देश साझा गरेको छ।
प्रिगोजिनले जुन (असार) महिनामा रुसको सशस्त्र सेनाविरुद्ध विद्रोह गरेका थिए। विद्रोह घोषणा गर्दै वागनर सेनाले रुसको रोस्तोव शहरमाथि नियन्त्रण कायम गरेको घोषणा गरेको थियो।
रोस्तोव शहरमाथि नियन्त्रण कायम गरेको दाबी गरेको वागनर सेना राजधानी मस्कोतर्फ पनि अगाडि बढेको थियो। विद्रोहपछि रुसी राष्ट्रपति पुटिनले वागनर समूहले देशद्रोह गरेको भन्दै कारबाही गर्ने चेतावनी दिएका थिए।
पछि बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले गरेको मध्यस्थताले वागनर समूहका सेनाको मस्को यात्रा रोकिएको थियो।
रुसी राजधानी मस्कोको उत्तर-पश्चिमको टभर क्षेत्रमा बुधबार विमान दुर्घटना भएको थियो। रुसको रोसाभिएट्सिया उड्डयन प्राधिकरणका अनुसार विमानले बुधबार मस्कोबाट सेन्ट पिटर्सबर्गका लागि ७ यात्रु र ३ चालक दलका लागि उडान गरिरहेको थियो।
विमान मस्को र सेन्ट पिटर्सबर्गको बीचमा रहेको कुजेनकिनो गाउँ नजिकै खसेको बताइएको छ।
वाग्नर समूहको स्थापना गर्दा देखिका वरिष्ठ कमाण्डर दिमित्री उटकिन पनि यात्रु सूचीमा रहेका उड्डयन प्राधिकरणले जनाएको छ।
एउटा रिपोर्टले ६२ वर्षीय प्रिगोजिनको शव फेला पारेको र पहिचान गरेको बताएको छ। यद्यपि यो आधिकारिक रूपमा पुष्टि भएको छैन।
रुसको सरकारी समाचार एजेन्सी इन्टर फ्याक्सले विमानमा सवार सबै १० जनाको शव फेला परेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।