काठमाडौं– नेपालका अभय महरा र कविर केसीको जोडी तथा दिलासा राना र रिहाना शेरचनको जोडी काठमाडौंमा जारी ब्याडमिण्टन एशिया (दक्षिण एशिया) रिजनल जुनियर च्याम्पियनसिपमा दुई स्वर्ण दिलाउनबाट चुकेका छन्।
ब्याडमिण्टन एशिया (दक्षिण एशिया) रिजनल जुनियर च्याम्पियनसिपको अभय र कविरको जोडी यु–१७ ब्वाइज डबल्स पराजित हुँदा दिलासा र रिहानाको जोडीले यु–१५ को गर्ल्स डबल्समा हार व्यहोरेका हुन्। ब्याडमिण्टन एशियाको आयोजनामा हलचोकस्थित सशस्त्र प्रहरी बलको एपिएफ क्लवमा जारी च्याम्पियनसिपको फाइनलमा कविर र अभयको जोडी बंगलादेशका राजोन मिया र एसएसए सिफात उल्लाहसँग २१–११, २१–११ को सोझो सेटमा पराजित भए। यससँगै सिफातको नाममा तीन सफलता रह्यो।
गर्ल्स डबल्समा श्रीलंकाका सिथुली रनसिंघ र नेथिम रत्नायकेले स्वर्ण जिते। यो जोडीले फाइनलमा नेपालका दिलाशा राना र रिहाना शेरचनलाई २१–१२ ,२१–४ ले पराजित गर्दै स्वर्ण हात पारेका हुन्। यू–१७ उमेरसमूहकै ब्वाइज सिंगल्समा पनि सिफात उल्लाहले स्वर्ण जिते।
सिफातले फाइनलमा श्रीलंकाका थिदासा वेरागोडालाई २१–१६, १२–२१, २१–१७ ले हराउँदै स्वर्ण जितेका हुन्। अन्य विधामा श्रीलंकन खेलाडी हाबी भए। गर्ल्स सिंगल्समा श्रीलंकाकी रनिथमा लियाङ्गे आफ्नै देशका रनुमी मनागेलाई फाइनलमा २१–६, २१–८ ले हराउँदै स्वर्ण जितिन्। गर्ल्स डबल्समा भने रनिथमाले रनुमी मनागेसँग मिलेर श्रीलंकालाई अर्को स्वर्ण जितिन्।
यो जोडीले फाइनलमा माल्दिभ्सका ऐसत जोया हुसैन र मोहम्मद सरिफ सैबाको जोडीलाई २१–६, २१–६ को समान अन्तरमा हराए। मिक्समा श्रीलंकाका थिदासा वेरागोडा र रनिथमा लियाङ्गेको जोडीले स्वर्ण जित्यो। यससँगै रनिथमाको नाममा तीन स्वर्ण रह्यो। यो जोडीले फाइनलमा आफ्नै देशका हिरुका अलुथ पतबेदाङ्गे र रनुमी मनाङ्गेको जोडीलाई २१–१४, २१–१६ ले हराएका थिए। यू–१५ गर्ल्स सिंगल्समा श्रीलंकाकी नेथमी रत्नायकले स्वर्ण जितिन्। उनले फाइनलमा श्रीलंकाकै सिथुली रनसिंघलाई २१–१३, २१–१० ले हराइन्।
नेथमीले मिक्स डबल्समा पनि सेनुथ सेथमिता पेरेरासँग मिलेर श्रीलंकाका केनिथ अरुगोडा र सिथुली सनसिंघलाई २२–२०, २१–१२ ले हराउँदै दोस्रो स्वर्ण जितिन्। यसै विधाको ब्वाइज सिंगल्समा बंगलादेशका वाली उल्लाहले फाइनलमा बंगलादेशकै मोस्तकीम होसेनलाई २१–१५, २१–१५ को समान अन्तरले हराउँदै स्वर्ण पदक जिते। ब्वाइज डबल्समा सेनुथ सेथमिता पेरेराले केनिथ अरुगोडासँग मिलेर बंगलादेशका मोस्तकिम होसेन र वाली उल्लाहलाई २१–१५, १९–२१, २३–२१ ले हराउँदै स्वर्ण जिते।
सेनुथ मिक्स डबल्सका पनि स्वर्ण विजेता हुन्। श्रीलंकाले यस च्याम्पियनसिपमा मिक्स टिम विधाको दुईसहित ९ स्वर्ण र बंगलादेशले तीन स्वर्ण जिते। नेपालका लागि भने सबैभन्दा ठूलो सफलता दुई विधामा रजत पदक रह्यो। विजेतालाई ब्याडमिण्टन एशियाको डेभलपमेण्ट प्रमुख वाजिद अली चौधरी, नेपाल ब्याडमिण्टन संघ तदर्थ समितिका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, सशस्त्र प्रहरी बलको अतिरिक्त प्रहरी महानिरीक्षक चन्द्रप्रकाश गौतमलगायतले पुरस्कृत गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।