बैंकक– १५ वर्षको निर्वासनपछि स्वदेश फर्किएका थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा जेल चलान भएका छन्। आपराधिक मुद्दाहरुमा उनलाई ८ वर्षको जेल सजाय तोकिएको छ।
तर यसपटक उनले धेरै समय जेलमा बिताउनु नपर्ने धेरैको विश्वास छ।
अर्का थाइ नेताका लागि मतदान हुनु अगाडि उनी मंगलबार बिहान निजी जेटमा बैंकक आइपुगेका थिए।
थाइल्याण्डका सबैभन्दा सफल निर्वाचित नेता मानिने थाक्सिनलाई लामो समयदेखि परम्परावादी शाहीवादीहरूले डराउने गरेका छन्। परम्परावादी शाहीवादीहरू थाक्सिनविरुद्ध लगाइएका सैन्य विद्रोह र विवादास्पद अदालती मुद्दाहरूको समर्थन गर्छन्।
थाक्सिनका समर्थकहरु भने उनलाई उदार तथा महत्वाकांक्षी राजनीतिज्ञ मान्छन्। दूरसञ्चार क्षेत्रका ‘टाइकुन’ थाक्सिन स्वदेश फर्किने खबर सार्वजनिक भएपछि उनका समर्थकहरु सोमबार रातिदेखि नै बैंकको विमानस्थलमा भेला भएका थिए।
थाक्सिन मंगलबार बिहान आफ्ना दुई छोरी र छोराको साथमा विमानस्थलको टर्मिनलबाट छोटो समयको लागि निस्किए र राजा–रानीको तस्बिरमा श्रद्धाञ्जली अर्पण गरे।
विमानस्थलबाट उनलाई सर्वोच्च अदालतमा लगियो। अदालतमा उनलाई विभिन्न आरोपमा ८ वर्षको जेल सजाय तोकिएको सुनाइयो। अदालतबाट उनलाई बैंकक रिमान्ड जेलमा पठाइयो। सरकारी निकायले उनी ‘कर्मचारीको निगरानीमा सुरक्षित’ रहेका बताएको छ।
थाक्सिनको फेउ थाइ पार्टी गठबन्धन सरकारमा सामेल हुने अपेक्षा गरिएको छ।
हालैको निर्वाचनमा सबैभन्दा धेरै स्थानमा जित हासिल गरेको कट्टरपन्थी युवा मुभ फर्वार्ड पार्टी नेतृत्वले थाक्सिनको पार्टी फेउ थाइसँग सत्ता साझेदारीका निम्ति समझदारी गरेको छ। गठबन्धनमा अन्य दल पनि सहभागी हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।