काठमाडौं- हास्यव्यंग्य कलाकार जितु नेपालले मुन्द्रेको कमेडी क्लब अपेक्षा गरेअनुसार नचलेको बताएका छन्।
सोमबार काठमाडौंमा जितुको हास्यव्यंग्य गाइजात्रा २०८० को बारेमा आयोजित पत्रकार भेटघाटमा उनले अपेक्षाअनुसार कार्यक्रम नचलेको बताएका हुन्। उनले दर्शक कम हुनुका साथै उस्तै कमेडी विधाका अन्य कार्यक्रमहरू बाँडिँदा अपेक्षाअनुसार शो चल्न नसकेको बताए।
तुलनात्मक रुपमा पहिलाको भन्दा युट्युबमा हेर्ने दर्शक पनि घटेको जानकारी उनले दिए। पहिला ठूलो सेटमा कार्यक्रम गर्ने गरेको तर अहिले खुम्चिएर सानो सेटमा कार्यक्रम गर्न बाध्य भएको गुनासो उनले गरे।
‘अपेक्षा गरेअनुसारको पहिलो र दोस्रो आइसकेको छैन। कार्यक्रमहरु यस्तै धेरै बाँडिरहेका छन्। तुलनात्मक रुपमा पहिलाको भन्दा युट्युबमा भ्युअर्समा कम छ,’ उनले भने, ‘ठूलो सेटमा कार्यक्रम गरेको थिएँ, अहिले सानो सेटमा गर्दै जानुपरेको छ। खुम्चिँदै गयौँ। पहिलाको जस्तो अवस्था छैन।’
यसैगरी उनले आफ्नो नयाँ गाइजात्रामा आफूले राजनीतिक र समसामयिक विषयवस्तु उठान गरेको बताए। अन्य बेलामा अन्य विषय र कलाकारलाई व्यंग्य गर्न सकिने तर राजनीतिप्रति खुलेर व्यंग्य गर्न पाइने एउटै अवसर गाइजात्रा भएको उनको भनाइ थियो। गाइजात्राको भिडियोमा कांग्रेस सभापति शेरबहादुर देउवा देश छोडेर विदेश पलायन भएको विषयवस्तु उठाइएको जानकारी उनले दिए।
साथै अन्य नेताहरु पनि देशलाई खाल्डोमा हालेर देश छोडेर विदेश पलायन भएको लगायतका विषयवस्तुहरूमाथि व्यंग्य गरिएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।