काठमाडौं- भक्तपुरको बाल सुधार गृहबाट १५० भन्दा बढी बालबालिका भागेपछि उपत्यकाका तीनवटै जिल्लामा प्रहरीले सुरक्षा सतर्कता बढाएको छ। तीनवटै जिल्लामा भागेका बालबालिकाको खोजी कार्य भइरहेको छ। जसमध्ये करिब १०० जना बालबालिकालाई काठमाडौं र भक्तपुरका विभिन्न ठाउँबाट पुन: नियन्त्रणमा लिइएको छ।
सुरक्षा सतर्कता बढाउँदै रानीपोखरीबाट दुईजना एसएसपीसहितको प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको छ। उपत्यका प्रहरी कार्यालयमा कार्यरत एसएसपीहरू दिनेशराज मैनाली र ओम रानाको नेतृत्वमा थप प्रहरी परिचालन गरिएको कार्यालयले जनाएको छ।
सोमबार दिउँसो २ बजे ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई आक्रमण गरेर मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहबाट करिब १५० भन्दा बढी बालबालिका भागेका थिए।
बलात्कारको आरोपमा सुधार गृहको थुनामा रहेका एक युवकको आइतबार रहस्यमय ढङ्गले मृत्यु भएपछि गृहमा तोडफोड भएको थियो। रामेछापको मन्थली नगरपालिका–३, कठजोरका २१ वर्षीय कमल बस्नेतको आइतबार बिहान रहस्यमय ढङ्गले मृत्यु भएको भन्दै उनका आफन्तले बाल सुधार गृह अगाडि नाराबाजी गरी तोडफोड गरेपछि दिनभर तनावग्रस्त भएको थियो।
बालसुधार गृहभित्र रहेका बस्नेतको मृत्युपछि सुधार गृहमा रहेका पुरुष थुनुवाले भित्रैबाट र मृतकका आफन्तले बाहिरबाट घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने र क्षतिपूर्ति दिनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए। त्यहाँ रहेका अधिकांश बालबालिकाहरूले प्रदर्शनकारीलाई साथ दिएका थिए।
सोमबार त्यहाँ रहेका बालबालिकाहरू तोडफोड गरेर भागेका हुन्। ढोका फोडेर भाग्ने क्रममा उनीहरूले सुरक्षामा रहेका प्रहरीमाथि पनि आक्रमण गरेका थिए। स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड गोली पनि चलाएको थियो। जसमा तीन जना बालबालिका घाइते समेत भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।