कोशी प्रदेश सभा बैठक (फाइल तस्बिर) काठमाडौं– कोशी प्रदेश सभाको बैठक बोलाएकी उपसभामुख सृजना दनुवार काठमाडौं उडेपछि आज (सोमबार) बस्ने भनिएको प्रदेश सभा बैठक स्थगित भएको छ। सोमबारको बैठकमा मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत माग्नेसम्बन्धी प्रस्ताव पेस गर्ने तयारी थियो।
सभामुखले राजीनामा दिएर सरकारमा मन्त्री भएपछि बैठकको अध्यक्षता उपसभामुखले गरेकी थिइन्। मुख्यमन्त्री थापाले विश्वासको मत लिने प्रयोजनका लागि दर्ता गराएको पत्रमा उपसभामुख दनुवारले नै तोकादेश गरेकी थिइन्। उनले उक्त पत्र सोमबारको प्रदेश सभा बैठकमा प्रस्तुत गर्न भनेकी थिइन्।
सोमबारका लागि प्रदेश सभाको बैठक बोलाएकी उपसभामुख दनुवार आफू भने बिहानै काठमाडौं उडेकी छन्। उनी बिरामी बिदा लिएर सोमबार बिहान यति एयरलाइन्सको उडानमार्फत् विराटनगरबाट काठमाडौं उडेकी हुन्।
उपसभामुखनै नहुने भएपछि बैठक स्थगित भएको कांग्रेस सचेतक भूपेन्द्र राईले बताए।
‘उपसभाखुले नै बोलाएको बैठक उहाँ नभएपछि नबस्ने भनेर अहिले बसेको कार्यव्यवस्था समितिको बैठकले निर्णय गरेको छ। त्रसपछि के गर्ने भन्ने छलफल गर्न पुन: १ बजे बैठक बोलाइएको छ,’ राईले नेपाल लाइभसँग कुरा गर्दै भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।