काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाएका छन्। राष्ट्रपति पौडेलले मङ्गलबार बिहान साढे ८ बजेको निम्ति बैठक बोलाएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
बैठक राष्ट्रपति भवन शीतल निवासमा बस्नेछ। राष्ट्रपति निर्वाचित भएपछि पौडेलले सबै राजनीतिक दलका नेताहरूको पहिलो पटक बैठक राखेका हुन्।
संसद्को जारी गतिरोध अन्त्य गर्न राष्ट्रपति पौडेलले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई मङ्गलबार बिहान साढे ८ बजे शीतल निवास बोलाएको प्रेस सल्लाहकार पोखरेलको भनाइ छ।
सुन प्रकरण उच्चस्तरीय छानबिन समितिको माग गर्दै नेकपा एमालेले निरन्तर संसद् अवरोध गर्दै आएको छ। यसअघि राष्ट्रपति पौडेलले ठूला दलका शीर्ष नेतालाई शीतल निवास बोलाएर छलफल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।