काठमाडौं– देउडा गायक महेशकुमार औजी ‘देउडा रत्न २०८०’ बाट सम्मानित भएका छन्। हिमाल डेन्टल अस्पतालले दिने गरेको १ लाख २५ हजार १ सय ५१ रुपैयाँको सम्मानबानट उनी सम्मानित भएका हुन्।
सुदूरपश्चिमको बैतडीमा जन्मेका महेशको बाल्यकाल संगीतमय थियो। उनका बुबा मोहन औजी पनि गीत गाउँथे। बुबाले गाएको गीतसुन्न खुब रुचाउँथे महेश।
गीत सुन्दासुन्दै देउडाका टुक्का गुन्गुनाउने बानी पर्यो उनलाई। ‘स्कुलको कार्यक्रममा पनि गीत गाउन थालेँ। मैले गाउँछु भन्ने थाहा पाएपछि सांगीतिक कार्यक्रममा देउडा गाउन मलाई बोलाइन्थ्यो,’ महेशले सम्झिए, ‘यसरी म पटक पटक गाउँदा पुरस्कृत पनि भएँ।’
महेशले ५०० भन्दा बढी देउडा गीतमा स्वर भरेका छन्। आफ्नै शब्द, संगीत होस् या अरुले लेखेका शब्द। उनको सुरिलो भाकालाई मन पराएरै देउडा सर्जकहरू समेत महेशलाई रोजाइमा राख्थे।
‘सात छुट्यो पिरती टुट्यो’, कलेजी कटाउने माया, अनिता यही विराना देश म त, सुदूरपश्चिम स्वर्ग सरी, घुम बादल अपिका रोल, निउतो दिएइ, जय हो जन्मभूमि मेरी, घुम्टो ओडी लाज माण्याकी, पूजा मुइ कहाँ गरुँ, डोली चढी तैंत गई, डाली मैना, साली भिना, लैजा परान लगायत उनका दर्जन भन्दा बढी गीत चर्चित छन्।
उनले देउडाबाहेक लोकगीत पनि गाएका छन्। ‘दशैं आयो, तिहार आयो’ भन्ने लोकगीत श्रोताहरूले निकै मन पराए। साथै उनले आधुनिक गीतमा समेत स्वर भरेका छन्।
तर उनको विशेष लगाव देउडामै रह्यो।
विसं २०५५मा ‘परदेशीको सम्झना’ नामक देउडा कोसेलीबाट उनले सांगीतिक यात्रा सुरु गरे। एल्बम्का ६ मध्ये ३ वटा गीत बाले लेखेका थिए। र आवाज पनि बुवाले नै भरेका थिए। बाँकी ३ गीत महेशले लेखे र आवाज पनि आफैंले भरे।
सुरुमा महेश बुबाको परिचयबाट चिनिन्थे। अहिले आफ्नो नाम र गीतबाट उनी सुदूरपश्चिमलाई चिनाउँछन्। बुबासँगै आफूले देउडामा गरेको संघर्ष सहज चाहिँ थिएन। ‘मैले गाएको गीत चल्दै गयो। मायाहरू बढ्न थाले। हौसला पनि थपिँदै गयो,’ महेश भन्छन्।
महेश आफ्नो गीतमा माया प्रेममात्र मिसाउन्नन्, सुख, दुःख, पीडा, वेदना पनि समावेश गर्छन्।
महेशले देउडामा आफ्नै पहिचान र मौलिकता भेट्छन्। देउडामार्फत् गरिने सवाल जवाफमा उनको दिलचस्पी छ।
उनी बाल्यकालमा खेलेका देउडाबारे सम्झन्छन्, ‘सानो हुँदा साउन महिनामा रातभर देउडा खेलेका छौँ। त्यतिबेला गाउँभरि देउडा खेल्ने चलन थियो।’
पछिल्लो समय महेशको एउटा चिन्ता छ, ‘देउडा गीत लोप हुँदै जाने त होइन?’
‘पछिल्लो समय स्थानीय तहका कार्यक्रममा पनि देउडालाई प्राथमिकतामा राखेको पाइन्न। गीतलाई हामीले ब्यानरमा मात्र सीमित राखेका छौँ,’ उनी चिन्ता व्यक्त गर्छन्।
महेशलाई लाग्छ, देउडा सांस्कृतिक धरोहर हो। यसको संरक्षणमा सरकारले पनि पहल गर्नुपर्ने बताउँछन् उनी।
प्रत्येक वर्ष सुदूरपश्चिममा महोत्सव हुन्छ। तर देउडा प्राथमिकतामा नपर्दाको दुखेको छ उनीसँग। र देउडा गाउने स्थानीय कलाकारलाई बेवास्ता गरेको गुनासो पनि।
‘नजिकको तीर्थ हेला’ भनेझैं देउडा जगेर्ना गर्नेहरूलाई गरिएको हेला उनलाई चित्त बुझेको छैन। भन्छन्, ‘स्थानीय कलाकारको सम्मान नभई देउडाको संरक्षण गर्न सकिन्न।’
आधुनिकताका नाममा भित्रिएका विकृतिले देउडा संस्कृतिमा असर परेको बुझाइ महेशको छ। ‘हामीले हाम्रो मौलिकतालाई जोगाएनौं भने पहिचान के त?’ उनको प्रश्न छ।
हाम्रो आफ्नै मेलोडीलाई बिर्सनु नहुने बताउँछन् महेश।
महेश गीत संगीतमा झन-झन् भविष्य देख्छन्। उनी यसलाई अझै व्यावसायिक बनाएर लैजान सकिने पनि बताउँछन्। त्यसका लागि नयाँ सिर्जना पेस गर्नुपर्ने बुझाइ महेशको छ।
र उनको प्रयास पनि गायनमा अलग्गै स्वाद पस्कनुमा नै देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।