काठमाडौं– संसद्को जारी अवरोध खुलाउन सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठक अघि संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरुको वैठक बोलाएका छन्।
सभामुख घिमिरेले आइतबार बिहान बिहान ११ बजे, सिंहदरबारमा बस्ने गरी प्रमुख सचेतकहरूलाई बोलाएको संसद सचिवालयले जनाएको छ।
प्रतिनिधि सभाको बैठक आइतबार दिउँसो १ बजेलाई बोलाइएको छ। त्यसअघि सभामुखले प्रमुख सचेतकहरूसँग छलफल गरेर सदनको अवरोध खुलाउने प्रयास गर्न लागेका हुन्।
छलफलका लागि नेताहरूलाई सभामुखको कार्यकक्ष सिंहदरबारमा बोलाएको सभामुखको सचिवालयले जनाएको छ। कार्यव्यवस्था परामर्श समितिको बैठकले आइतबारको सदन सञ्चालनबारे निर्णय लिने छ।
छलफलका लागि सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी हुने सभामुखको सचिवालयले जनाएको छ। सभामुखले जसपा, लोसपा, जनमत र नागरिक उन्मुक्तीका सचेतकहरुलाई पनि खबर गरेको, तर उनीहरुको सहभागीताबारे निर्णय नभएको सचिवलायले जनाएको छ।
प्रमुख प्रतिपक्ष नेकपा एमालेले लामो समयदेखि संसद अवरुद्ध गर्दै आएको छ। १ क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले संसद् अवरोध गर्दै आएको छ। एमालेको अवरोधमा कारण साउन महिनाभरी प्रतिनिधि सभा र राष्ट्रिय सभाका दुवै सदन कार्यसूचीमा प्रवेश गर्न पाएनन्।
संसद्को अवरोध खुलाउने विषयमा केही दिन अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख घिमिरेबीच छलफल भएको थियो। सभामुखले प्रधानमन्त्रीलाई सदन खुलाउनका लागि दलहरुबीच छलफल गर्न आग्रह गरेका थिए।
शनिबार मात्र प्रधानमन्त्री प्रचण्डले सार्वजनिक कार्यक्रममा आइतबारदेखि सदन सञ्चालन हुने दाबी गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।