काठमाडौं– सत्तासाझेदार नेकपा एकीकृत समाजवादी पार्टीको पोलिटब्यूरो बैठक आज (आइतबार)देखि सुरु हुने भएको छ।
शनिबार काठमाडौंको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बसेको एकीकृत समाजवादी पार्टीको सचिवालय बैठकले भदौ ३ र ४ गते पोलिटब्यूरो बैठक बस्ने औपचारिक निर्णय गरेको हो।
त्यसैगरी भदौ ५, ६ र ७ गते केन्द्रीय कमिटी बैठक पनि बोलाइएको छ। दुवै बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यभार नै मुख्य अजेण्डा हुने पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए।
पोलिटब्यूरो बैठकले केन्द्रीय कमिटी बैठकको तयारी गर्ने र त्यसले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे महत्त्वपूर्ण निर्णय गर्ने पनि उनले जानकारी दिए।
प्रवक्ता खतिवडाले भने, ‘हामी पोलिटब्यूरो बैठक भोलिदेखि सुरु गरिरहेका छौं। भदौ ३ र ४ गते हाम्रो पार्टीको केन्द्रीय पोलिटब्यूरो बैठक बस्दैछ। ५, ६ र ७ गते केन्द्रीय कमिटी बैठक बस्दैछ। यसका अजेण्डाहरु हामीले पहिले नै तय गरेर पठाइसकेका छौं। भोलि र पर्सीको पोलिटब्यूरो बैठकमा वर्तमान परिस्थिति, वर्तमान राजनीति अथवा समसामयिक परिस्थिति र हाम्रो पार्टीको आगामी कार्यभार नै हाम्रो मुख्य विषय बनेको छ।’
एकीकृत समाजवादी आगामी माघमा सम्पन्न हुनेगरी राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ। सम्मानित नेता झलनाथ खनालले नेतृत्वका लागि आफ्नो दाबी हुने/नहुने भन्ने कुरा महाधिवेशन हलले नै तय गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।