काठमाडौं– प्रतिनिधि सभाको बैठक आज (आइतबार) बस्दै छ। पछिल्लो समय साउन २९ गते बसेर स्थगित भएपछि आइतबार (भदौ ३ गते) बैठक बस्न लागेको हो।
पछिल्लो समय १ क्विन्टल सुन तस्करीको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदनमा अवरोध पुर्याउँदै आएको छ। एमालेको अवरोधका कार्य साउन महिनाभरी तय भएका प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठकहरु नियमित कार्यसूचीमा प्रवेश गर्न पाएनन्।
एमालेले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गरिनुपर्ने बताउँदै आएको छ।
सरकारले भने अपराध अनुसन्धानका लागि स्थापित नियकाबाटै अनुसन्धान हुने बताउँदै आएको छ। यसअघि पनि सुन तस्करी प्रकरण लगायतका अपराध अनुसन्धानमा उच्चस्तरीय समिति बनेको, तर त्यस्ता समितिको अनुसन्धानले प्रतिफल दिन नसकेकाले राज्यका स्थापित निकायबाटै अनुसन्धान हुने सरकार पक्षको दाबी छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएको झन्डै १०० किलो सुन राजस्व अनुसन्धान विभागको टोलीले साउन २ गते भन्सार कार्यालयको गेट बाहिरबाट बरामद गरेको थियो। मोटरसाइल र स्कुटरको ब्रेक सुमा मोरेर ल्याइएको सुन ट्याक्सीमा राखेर गन्तव्यतर्फ लैजाँदै गर्दा विभागको टोलीले बरामद गरेको थियो।
विभागले प्रारम्भिक अनुसन्धान गरेर हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुन तस्करी, संगठित अपराध र अन्तरदेशीय सञ्जाल लगायत विषयमा थप अनुसन्धान गरिरहेको छ।
एमालेले भने साउन १० गतेको प्रतिनिधि सभा बैठकमा नै सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय समिति गठन गरिनुपर्ने माग गर्दै वेल घेराउ गरेको थियो। जसकारण साउन १० गतेको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो।
अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा र भन्सार जाँच पास गरेर सुन बाहिरिनुले सरकारकै संलग्नतामा सुन तस्करी भइरहेको भन्ने देखिएको एमालेको आरोप छ। एमालेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले त्यसको नैतिक जिम्मेवारी लिनुपर्ने पनि बताउँदै आएको छ।
सदन सञ्चालनको लागि नेताहरुबीच पटक–पटक छलफल समेत हुँदै आएको छ। तर एमाले र सरकारी पक्ष आ–आफ्नो अडानमा रहेका कारण सहमति हुन सकेको छैन।
यसबीचमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच सदन सञ्चालनका विषयमा छलफल भएको थियो। सभामुख घिमिरेले सदनमा देखिएको अवरोध हटाउनका लागि प्रमुख प्रतिपक्षी एमालेसँग छलफल गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए।
दलीय सहमति बिना सदनको अवरोध हट्न नसक्ने भएकाले दलहरुले आपसी छलफलका माध्यमबाट सहमति निकाल्नुपर्ने घिमिरेको भनाइ थियो। जवाफमा प्रधानमन्त्री प्रचण्डले सदनको अवरोध हटाउनेबारे प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दलका नेतासँग आफूले छलफल गर्ने बताएका थिए।
प्रधानमन्त्री प्रचण्डले शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आइतबारदेखि संसद्को अवरोध हट्ने बताएका थिए। रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले संसद गतिरोध अन्त्यका लागि निरन्तर प्रयास गरिरहेको भन्दै भोलिबाट संसद अवरोध हट्ने बताएका थिए।
प्रधानमन्त्री प्रचण्डले संसद् अवरोध खुलाउनका लागि आफूले सभामुखसहित प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीसँग छलफल अघि बढाइरहेको बताएका थिए।
प्रतिनिधि सभाको बैठक आइतबार दिउँसो १ बजे बस्ने तय छ। बैठकका सम्भावित ८ वटा कार्यसूची छन्।
आइतबारको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी निलम्बनमा परेको जानकारी गराउने सम्भावित कार्यसूची छ। नेकपा एमालेका नेता रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोग लागेर मुद्दाको पुर्पक्षका लागि थुनामा छन्।
आइतबारको बैठकमा नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेको र थुनामुक्त भएको जानकारी गराउने कार्यसूची समेत छ। नक्कली प्रमाणपत्रका आधारमा चिकित्सा शिक्षाको योग्यता हासिल गरेको आरोपमा शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको थियो। तर पछि अदालतले उनलाई थुना बाहिरै राखेर अनुसन्धान गर्न भनेपछि उनी थुनामुक्त भएका थिए।
आइतबारको बैठकमा सभामुख घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरणसम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउनेछन्। यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी अर्को व्यहोरा पढेर सुनाउने कार्यसूची छ।
आइतबारको बैठकमा प्रतिनिधि सभाअन्तर्गतका विषयगत समितिमा सदस्यको नाम हेरफेर गर्ने पनि कार्यसूची छ।
यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यावधिक थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा (२) बमोजिम सदनसमक्ष पेस गर्ने सम्भावित छ।
शिक्षा, विज्ञान तथा प्रविध मन्त्री अशोक कुमार राईले राष्ट्रिय सभामा उपत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक २०८०’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
यस्तै, सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावली २०७९ को नियम २१३ को उपनियम (१) बमोजिम १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित हुने प्रतिनिधि सभा सदस्यहरुको अनुपस्थितको सूचनाहरु सभाको स्वीकृतिका लागि पेस गर्ने पनि आइतबारको बैठकको कार्यसूची रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।