काठमाडौं– रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र मस्कोका शीर्ष सैन्य कमाण्डरसँग भेटेको केही घण्टापछि शनिबार युक्रेनको उत्तरी सहर चेर्निहिभमा क्षेप्यास्त्र आक्रमण भएको छ। आक्रमणमा परी कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन्।
कीएभबाट करिब १५० किलोमिटर उत्तरमा बेलारुसतर्फ रहेको चेर्निहिभ रूसको आक्रमणको पहिलो महिनादेखि नै ठूला आक्रमणबाट धेरै हदसम्म जोगिएको थियो।
फेब्रुअरी २०२२ मा बेलारूस हुँदै युक्रेनमा आक्रमण गर्दा रुसी सेनाले सहरभरि मार्च गरेको थियो। पुटिनले दक्षिणी रूसको रोस्तोभ–अन–डोनको दुर्लभ भ्रमणका क्रममा रूसी सेनाका शीर्ष जर्नेललाई भेटेपछि यो आक्रमण भएको हो।
यो आक्रमण हुँदा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले स्वीडेनको भ्रमणका लागि त्यसतर्फ लागिसकेका छन्। चेर्निहिभ आक्रमणबारे पुष्टि गर्दै युक्रेनका गृहमन्त्री इगोर क्लाइमेन्कोले टेलिग्राममा भनेका छन्, ‘पाँच जनाको मृत्यु भएको छ। कम्तीमा ११ बालबालिकासहित ३७ जना घाइते भएका छन्।’
जेलेन्स्कीका अनुसार यो आक्रमण ‘सहरको मध्यभागमा’ एउटा चोकमा भएको थियो, जहाँ ‘पोलिटेक्निक विश्वविद्यालय र एउटा नाट्यशाला’ छ। ‘एउटा सामान्य शनिबारलाई रूसले पीडा र क्षतिको दिनमा परिणत गरेको छ,’ युक्रेनी नेताले स्वीडेन पुगेपछि भने।
उनले घटनास्थलबाट एउटा भिडियो पोस्ट गरेका थिए। यसमा सोभियत कालीन एउटा ठूलो भवनको चारैतिर भग्नावशेष देखिएको छ, त्यसको वरिपरि रोकेर राखिएका कारहरूमा आंशिक रूपमा क्षति भएको छ। एएफपीका सञ्चारकर्मीहरूले तारास शेभचेन्को नाट्यशाला सङ्गीत एकेडेमी बाहिर दमकल देखेको बताएका छन्। आसपासका केही भवनमा पनि सामान्य क्षति पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।