काठमाडौं– पूर्वप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दले संसद्को अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहलकदमी लिनुपर्ने बताएका छन्।
वरिष्ठ नेता चन्दले प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरी संसद्मा जारी अवरोध हटाउन ढिलाई गर्न नहुने बताएका हुन्।
शनिबार ललितपुरमा आयोजित मोतिशोभा श्रेष्ठको ‘चियाको चुस्की’, प्राडा सृजना श्रेष्ठको ‘भोलि कोही नआउन्जेलसम्म’ र प्राडा सविना श्रेष्ठको ‘एउटा जीवन छामेर हेर्दा’ कृतिहरुको लोकापर्ण कार्यक्रमपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्री दाहालले संसद्को अवरोध हटाउने अभिव्यक्ति दिएको उल्लेख गर्दै छिट्टै संसद् सुचारु हुने विश्वाससमेत व्यक्त गरे।
फरक प्रसंगमा वरिष्ठ नेता चन्दले पार्टीभित्र केही समस्या रहेको स्वीकार गर्दै त्यसको समाधान विधि र विधान भित्रै रहेर हुने बताए।
कार्यक्रममा वरिष्ठ नेता चन्दले लोकार्पण गरिएका तीन वटै कृतिहरु पठनीय रहेको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।