काठमाडौं- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले प्रदीप गिरिले कहिल्यै सत्तामोह नदेखाएको बताएका छन्। तर उनले एकपटक किसिनजी (कृष्णप्रसाद भट्टराई)को आग्रहमा केही दिन विदेशमन्त्री भने बनिदिन्छु भनेको बताए।
‘किसुनजीले प्रदीपजीलाई भन्नुभएको थियो, म प्रधानमन्त्री भएँ भने तिमीलाई विदेशमन्त्री बनाउँछु, तयार हुनुपर्छ’, शनिबार गिरिको स्मृतिमा आयोजित ‘लोक एवम् लोकतन्त्र सेतु गाथाः काठमाडौंदेखि काशीसम्म’ कार्यक्रममा सम्बोधन गर्दै निधिले सो प्रसंग स्मरण गरे।
किसुनजीको प्रस्तावबारे आफूले पनि गिरिलाई सोधेको र उनले पनि किसुनजीले मन्त्री बनाए आफू केही दिनका लागि बनिदिने बताएको निधिको भनाइ छ। गिरिको भनाइ उद्धृत गर्दै निधिले भने, ‘तपाईंजस्तो म संगठित रुपमा राजनीतिक जीवन बिताउने मान्छे त होइन। अरु कसैको त होइन, किसुनजी जित्नुभयो र म पनि जितेँ भने, मलाई बनाउनुहुन्छ भने, किसुनजीका लागि केही दिनसम्म म विदेशमन्त्री भएर बसिदिन्छु।’
तर किसुनजीले गिरिलाई मन्त्री बनाउने विषय अरुले थाहा पाएको र उनलाई निर्वाचनमा हराइदिएको निधिले बताए। त्यो विषय पनि आफूले गिरिकै सामुन्ने किसुनजीलाई भनेको उनको भनाइ छ। ‘किसुनजी तपाईंले प्रदीप गिरिलाई विदेश मन्त्री बनाउँछु भनेको समाचार जहाँजहाँ पुग्नुपर्ने हो पुग्यो क्यारे। प्रदीपजीलाई हराउनका लागि नेपालभित्रका शक्तिहरु लागे, बाहिरका शक्तिहरु लागे कि लागेनन् भन्दिनँ । नेपालभित्रकै शक्तिहरु लागे, यो कारण पनि हो। तपाईंको दुर्भाग्य रहेछ’, निधिले स्मरण गरे।
तर गिरिले भने आफूलाई आनन्द भएको बताएको उनको भनाइ छ। गिरिलाई उद्धृत गर्दै निधिले भने, ‘आनन्दै भयो। म जितेको भए किसुनजीले मलाई विदेशमन्त्री बनाउनुहुन्थ्यो। मलाई रुचि नै थिएन। म बन्नै पाइनँ।’
निधिले उल्लेख गरेको प्रसंग २०५६ को आमनिर्वाचनको हो। त्यतिबेला नेपाली कांग्रेसले भट्टराईलाई नै प्रधानमन्त्री बनाउने घोषणा गरेर निर्वाचनमा होमिएको थियो। सो निर्वाचनमा भट्टराई पर्सा-१ बाट निर्वाचित भएका थिए। गिरि भने सिरहा-५ बाट पराजित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।