काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आइतबार विश्वासको मत लिने तयारी गरेका छन्। यसका लागि उनले बुधबारै प्रदेश सभा सचिवालयमा निवदेन दिएको प्रदेश सभाका प्रवक्ता गौतम राज अमात्यले नेपाल लाइभलाई जानकारी दिए।
संविधानको धारा १८८ को उपधारा १ अनुसार थापाले आफूलाई प्रदेश सभा सदस्यहरुको विश्वास रहेको छ भन्ने स्पष्ट पार्न प्रदेश सभामा निवेदन दिएका हुन्।
थापाको उक्त निवेदनउपर निर्णयका लागि सभामुखले समय तोक्नु पर्ने संवैधानिक व्यवस्था छ। तर सभामुख रिक्त रहेको र कार्यबाहक सभामुखको हैसियतमा उपसभामुखक सीर्जना दनुवारसमक्ष निवेदन पेस गरेपनि थप निर्णय नआएको प्रदेश सभा सचिवालयले जनाएको छ।
यसअघि शुक्रबार प्रदेश सभाको बैठक बस्ने तयारी छ। अपराह्न १ बजे बस्ने भनिएको बैठक २ बजेसम्म बस्न सकेको छैन।
साउन १६ गते मुख्यमन्त्री भएका थापाले भाद्र १४ गतेसम्ममा विश्वासको मत लिनु पर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।