दोरम्बा– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा रहेका विकृति र वेथिति अन्त्यको नेतृत्व पनि माओवादी केन्द्रले लिने दाबी गरेका छन्।
बिहीबार नेकपा माओवादी केन्द्र दोरम्बा शैलुङ गाउँपालिकाले आयोजना गरेको २० औं दोरम्बा हत्याकाण्ड स्मृति दिवस तथा श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त दाबी गरेका हुन्।
देशको व्यवस्थामा परिर्वतन ल्याउने आन्दोलन, स्वाधिनता र अखण्डताका पक्षमा लडेको माओवादी केन्द्रलाई पछिल्लो समय जनताको जीवनमा परिर्वतन ल्याउनेबारे कार्यशैलीगत अन्योल रहेकोमा त्यो बाटो पहिल्याएको उनले बताए। अब माओवादी जनतासँग जोडिने, घरघरमा माओवादी, जनजनमा माओवादी अभियान चलाउने उनको भनाइ थियो।
उनले भने, ‘अहिले देशमा धेरै व्यथिति छन्। तीनको अन्त्य गर्ने नेतृत्व कसै न कसैले त लिनैपर्छ। यसको नेतृत्व हिजो जनताका अधिकार स्थापित गर्ने परिर्वतनका आन्दोलमा सहभागी भएका बलिदानीको कृतिमान कायम गरेका हामी माओवादीले लिनुपर्छ।’
निर्वाचनका बेला व्यवस्था बदलेको र अब अवस्था बदल्ने भन्ने घोषणा गरेको स्मरण गर्दै प्रचण्डले यसअघि व्यवस्था बदल्न के गर्ने भन्नेमा अल्मलिने गरेको भए पनि अब भने बाटो पहिल्याएको दाबी गरे।
उनले भने, ‘हिजो बन्दुक बोकेर एकात्मक, निरङ्कुतामा रहेको देशमा समावेशी गणतन्त्र ल्याउन त सकेउँ, तर जनताले चाहे अनुसारको परिवर्तन हुन सकेको छैन, जनताको जीवनमा परिर्वतन ल्याउन अझ संघर्ष गर्ने त भनियो तर बाटो भने अलमल थियो, जुन बाटो अहिले हामीले पहिल्याएका छौं। जनतासँग माओवादी विशेष अभियान सञ्चालन गर्ने भनेका छौं।’
सरकारले सुशासनका पक्षमा गरेका काम र पार्टीले चलाएको जनतासँग माओवादी रुपमान्तरण अभियानलाई जोडेर माओवादी र जनताबीचको सम्बन्ध नङ र मासुको जस्तै बनाइने उनको भनाइ थियो।
उनले भने, ‘हामी फेरिन चाहन्छौं जनतासँग जोडिएर, जनताको घरमा गएर देशको अवस्थाबारे जानकारी गराएर, समाजवादको नयाँ आन्दोलनको रुपमा सरकार र पार्टी दुवै तर्फबाट अभियान सञ्चालन गर्छौं, यसमा सबैको साथ समर्थन आवश्यक छ।’
जनयुद्धको नेतृत्वकर्ताको हैसियतले आफूले माओवादी जनयुद्ध, जनयुद्धका घाइते, अपाङ्ग सहिद तथा बेपत्तालाई सम्मान गर्ने नै गरेको बताउँदै उनले प्रधानमन्त्री बनिसकेपछि जनयुद्ध र परिर्वतनका विभिन्न आन्दोलनमा सहिद बनेका माओवादी सेना, नेपाली सेना, प्रहरी र सबैलाई समान व्यवहार गर्दै राष्ट्रिय सहिद घोषणा गरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।