काठमाडौं– राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपालको भौगर्भिक र भू–सतहको अध्ययन गर्नुपर्ने बताएका छन्। बिहीबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले उक्त कुरा बताएका हुन्।
उनले नेपालको भू–सतह चलायमान रहेको उल्लेख गर्दै भू–सतहको अध्ययन गरेर मात्रै जमिनको प्रयोग गर्नुपर्ने बताए। अध्ययन गरेर मात्रै कृषि उत्पादन गर्नुपर्नेमा पनि उनले जोड दिए।
गौतमले जथाभावि जमिनमा खनजोत गर्नु नहुने भन्दै जतिधेरै डोजरको प्रयोग गरिन्छ उति नै प्राकृतिक प्रकोपको खतरा रहेको उल्लेख गरे। आगामी सोह्रौं आवधिक योजनामा भौगर्भिक र भू–सतहको अध्ययन गर्ने विषय समेट्नुपर्ने उनको भनाइ छ।
उनले नेपालमा उत्पादन भएका कृषि उपजको सही तरिकाले प्रयोग गर्न सके आत्मनिर्भर भइने दाबी गरे। नेपालमा उत्पादित खाद्यान्नको सही तरिकाले उत्पादन गर्न नसक्दा देश बाहिरबाट आयात गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।