काठमाडौं– नयाँ शक्ति नेपाल पार्टीको सार्वजनिक भएको आर्थिक वर्ष २०७३/०७४ को आय व्यय विवरणअनुसार पार्टीले आर्जन गरेको आयभन्दा खर्च बढी भएको छ। नयाँ शक्तिले आम्दानी देखाएको ६३ लाख २८ हजार ६६ रुपैयाँभन्दा २४ लाख २७ हजार ६ सय ८३ रुपैयाँ बढी खर्च गरेको हो।
पार्टीको लेखा परीक्षण प्रतिवेदनअनुसार आव २०७३/०७४ मा पार्टीले कुल ८७ लाख ५५ हजार ७ सय ४९ रुपैयाँ खर्च गरेको छ। अघिल्लो आवमा भने पार्टीले कुल आम्दानी १ करोड २६ लाख ५ हजार ३ रुपैयाँ गरेकोमा कूल खर्च ७८ लाख ३५ हजार २ सय ९३ रुपैयाँ भएको देखिन्छ। जसअनुसार गत वर्ष पार्टीले ४७ लाख ६९ हजार ७ सय ९० रुपैयाँ बचत गरी साधारण कोषमा राखेको थियो।
एकातिर अघिल्लो आवको आयको तुलनामा आव ०७३/०७४ मा पार्टीको आय घटेको छ भने अर्कातिर खर्च बढेको छ। लेखा परीक्षण प्रतिवेदन अनुसार यस वर्ष पार्टीको आय गत वर्षकोभन्दा ६२ लाख ७६ हजार ९ सय ३७ रुपैयाँ थोरै छ।
यस वर्ष पार्टीको कुल खर्चमध्ये सबैभन्दा बढी खर्च प्रशासनिक तथा साधारण शीर्षकमा ३९ लाख ५८ हजार ८ सय २७ रुपैयाँ छ। चुनावी खर्च शीर्षकमा ३५ लाख ४२ हजार २ सय १७ रुपैयाँ देखिएको छ भने कर्मचारी खर्च शीर्षकमा १२ लाख ५४ हजार ७ सय ५ रुपैयाँ छ। कर्मचारी खर्चको अनुसूचीमा उल्लेख भए अनुसार उक्त शीर्षकको सबै रकम कर्मचारीको तलब तथा ज्याला भुक्तानीमा खर्च भएको देखिन्छ। तर, पारिश्रमिकमा लाग्ने करकट्टी गरेको भने लेखा परीक्षण प्रतिवेदनमा देखिँदैन।
यसैगरी, पार्टीले कार्यालयको घरबहाल बापत आव ०७३/०७४ मा ७ लाख ५० हजार रुपैयाँ भुक्तानी गरेको देखिए पनि घरबहाल कर रकम लेखा परीक्षण प्रतिवेदनमा देखिँदैन। यसैगरी, प्रतिवेदन अनुसार लेखा परीक्षण शुल्कमा लाग्ने कर शीर्षकमा रकम कट्टा गरेको देखिँदैन। कर कट्टीबारे लेखा परीक्षण प्रतिवेदनमा उल्लेख प्रमुख लेखानीति तथा टिप्पणीमा पनि केही उल्लेख गरिएको छैन।
प्रतिवेदन अनुसार पार्टीले ३५ लाख ४२ हजार २ सय १७ रुपैयाँ चुनाव खर्च गरेको देखाए पनि यस शीर्षकको अनुसूचीमा प्रचार–प्रसार खर्च २० लाख ३ हजार ८ रुपैयाँ, यातायात तथा भ्रमण खर्च ५ लाख ५७ हजार ७ सय रुपैयाँ र बैठक तथा भोजभतेरमा ९ लाख ८१ हजार ५ सय ९ रुपैयाँ खर्च गरेको उल्लेख छ।
यसैगरी, दर्तावाल लेखा परीक्षक डिएल श्रेष्ठ एन्ड एसोसिएट्सले तयार पारेका लेखा परीक्षण प्रतिवेदनमा पार्टीको स्थिर सम्पत्तीमा गरेको ह्रास कट्टीको रकम पनि फरक देखिएको छ। स्थिर सम्पत्तिको अनुसूचीमा ह्रास कट्टीको रकम २ लाख ६९ हजार ७२ रुपैयाँ र प्रशासनिक तथा साधारण खर्चको अनुसूचीमा ३ लाख ५९ हजार ३ सय ५३ रुपैयाँ देखाइएको छ।
३ लाख रुपैयाँ अक्षय कोष रहेको नयाँ शक्तिले अघिल्लो आर्थिक वर्षमा मौज्दात रहेको साधारण कोषबाट खर्च गर्नुपरेको छ। २०७२/७३ को आर्थिक वर्षमा साधारण कोष ४७ लाख ६९ हजार ७ सय ९० रुपैयाँ रहेकोमा गत आर्थिक वर्षमा त्यो कोष घटेर २३ लाख ४२ हजार १ सय ७ रुपैयाँमा आएको छ। पार्टीले साधारण कोषको मौज्दातबाटै २४ लाख २७ हजार ६ सय ८३ रुपैयाँ खर्च गरेको छ।
नयाँ शक्तिले देखाएको चालू सम्पत्तिमा पनि सदस्यहरुबाट लिनुपर्ने रकम २७ लाख ४६ हजार ७ सय ८६ रुपैयाँ देखाएको छ। यसले पार्टीले सदस्यहरुबाट उठाउनुपर्ने शुल्क उठाउन सकेको देखिँदैन। यस्तै उसको बैंक मौज्जाद १ लाख १३ हजार ६७ रुपैयाँ मात्र छ। जबकि आव २०७२र७३ मा नयाँ शक्तिको चालू बैंक मौज्दात २५ लाख ७६ हजार ५४ रुपैयाँ थियो।
नयाँ शक्तिले गत आर्थिक वर्षमा ५५ लाख ८६ हजार ६ सय ९६ रुपैयाँ चन्दा तथा व्यक्तिगत सहयोग जुटाएको छ। तर, प्रवेश शुल्क र वार्षिक शुल्क भने २०७२/७३ को तुलनामा अत्यन्तै न्यून छ। गत आर्थिक वर्षमा ६ लाख १ हजार ३ सय ५ रुपैयाँ वार्षिक शुल्क उठाएको पार्टीले अघिल्लो आर्थिक वर्षमा ७५ लाख रुपैयाँ वार्षिक शुल्क उठाएको थियो। पार्टी प्रवेश शुल्क पनि अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा अत्यन्तै न्यून छ। २०७२/७३ मा ७ लाख ५० हजार रुपैयाँ प्रवेश शुल्क उठाएको नयाँ शक्तिले २०७३/७४ मा ६२ हजार २ सय ५० रुपैयाँ मात्र प्रवेश शुल्क उठाउन सकेको देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।