काठमाडौं- नेकपा एमालेको सार्वजनिक कार्यक्रममा अध्यक्षबाहेक अन्यको फोटो नगरिने भएको छ। साउन २९ गते बसेको बैठकले सो निर्णय गरेको उपमहासचिव विष्णु रिमालले जानकारी दिए।
‘कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन पार्टी र जनसंगठनहरुले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्ष बाहेक अन्य फोटो प्रयोग नगर्ने’, सचिवालयको निर्णय भन्दै रिमालले फेसबुकमा लेखेका छन्।
त्यस्तै, मञ्चको प्रयोग वक्ताले मात्र गर्ने, अतिथि र वक्ताहरुलाई दर्शक दीर्घामा नै मर्यादित ढङ्गले आसनको व्यवस्था मिलाउने, कार्यक्रममा तथा कार्यक्रम सुरु भएपछि आसन ग्रहणको उद्घोषण गरिरहने परम्परा अन्त्य गर्ने र कार्यक्रममा ब्याच, माला र खादाको अनावश्यक प्रयोग नगर्ने र कार्यक्रमलाई भडकिलो नबनाउने निर्णय पनि गरिएको छ।
सार्वजनिक कार्यक्रममा फोटोको प्रयोग, आसन ग्रहण र मञ्च व्यवस्थापन सम्बन्धी निर्णय एमालेले नियमित परिपत्रमार्फत् पार्टी पंक्तिमा प्रेषित गर्ने उनको भनाइ छ।
बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीले यो विषय सामाजिक सञ्जालमा पनि लेखेका थिए।
‘फेसबुक ट्विटरमा मलाई प्राप्त म्यासेजहरुमा धेरैजना साथीहरुले कार्यक्रमहरुमा धेरैलाई आसनग्रहण गराएर समय बर्बाद गर्नु भएन भन्ने सुझाव दिने गर्नुभएको थियो। हो पनि। तिनै सुझावलाई मध्यनजर गरेर हाम्रो पार्टीले अस्तिको सचिवालय बैठकबाट यस सम्बन्धी निर्णय गरेको छ। यसैगरी अब अनुहारै छोपिनेगरी खादा–माला र कोटभन्दा ठूला व्याच लगाउने प्रचलन पनि बन्द गर्नु पर्छ। कार्यक्रमहरुमा औपचारिकताका लागि धेरैलाई आसनग्रहण गराउने र खादा–मालाले पुर्ने भद्दा चलनहरु हटाएर समयलाई काममा लगाउने विषयमा तपाईंहरुका अरु के सुझावहरु छन्’, ओलीले लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।