काठमाडौं– गोकर्णेश्वर नगरपालिकाले नगरभित्र रहेका महिला समूहरुलाई क्यान्सरको नि:शुल्क परीक्षण गर्न आग्रह गरेको छ। मेयर दीपककुमार रिसालले एक सूचना जारी गर्दै ३० वर्षदेखि ६० वर्ष उमेरका महिलाहरुको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर रोग लाग्न नदिन नगरले यस्तो अभियान सुरु गरेकाले सहभागी हुन अनुरोध गरेका छन्।
रोग लाग्न दिनुभन्दा पहिले नै सतर्कता अपनाउने र रोगको समयमै पहिचान गरेर उपचार गर्नका लागि नगरपालिकाले यस्तो निर्णय गरेको मेयर रिसालले बताए। यसमा सबैको सहभागिता हुन अनुरोध गरिएको र अनिवार्य रुपमा सहभागिता गराउन नगरले दिने आर्थिक सहयोग यो परीक्षण नगरे उपलब्ध नगराउने निर्णय गरेको उनले बताए।
‘अब सबै महिला समूहहरुले निःशुल्क जाँच गराउनको लागि समन्वय गरी सेवा लिन अनुरोध छ,’ नगरपालिकाको विज्ञप्तिमा भनिएको छ, ‘साथै महिला समूहहरुले उल्लेखित जाँच गरेको प्रमाणबिना कुनै पनि कार्यक्रमको लागि नगरपालिकाले रकम उपलब्ध नगराउने व्यहोरा अनुरोध छ।’

गोकर्णेश्वर नगरपालिका र आम्दा नेपालको संयुक्त पहलमा यो कार्यक्रम चलाउन लागिएको मेयर रिसालले बताए। ‘नगरपालिकाभित्र रहेका ३० वर्षदेखि ६० वर्ष उमेरका महिलाहरुको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर रोग लाग्नुभन्दा अघि जाँच गराएमा रोगबाट बच्न सकिने भएकाले यस्तो कार्यक्रम घोषणा गरिएको हो,’ रिसालले भने, ‘यसअघि पनि विभिन्न वडामा पाठेघरको मुखको क्यान्सरको सेवा लिनुभएका ३,०७४ जना, स्तन क्यान्सरको ३,२७६ जनाले सेवा लिइसक्नु भएको र अब सबै महिला समूहहरुले निःशुल्क जाँच गराउनको लागि अनुरोध गर्दछु।’
नगरले अन्य परीक्षणहरु पनि नि:शुल्क गरेको उनले बताए। उनका अनुसार भिडियो (एक्सरे), म्यामोग्राम (एक्सरे), एफ एन ए. सि टेष्ट पाठेघरको मुखको क्यान्सर, भि.आई. ए. टेष्ट, कोल्कोस्कोपी, प्याप स्मियर टेष्ट, वायीस्पि टेष्ट, पि.भि. डि. ए. टेष्ट, एच. पि.भि.डि एन ए टेष्ट पनि नि:शुल्क सञ्चालन गर्न लागेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।