एजेन्सी- रुसी सहर दागेस्तानिस्थित एक पेट्रोल पम्पमा आगो लाग्दा २७ जनाको मृत्यु भएको छ। सय जनाभन्दा बढी घाइते भएका छन्।
सोमबार राति माखाचकलामा रहेको पेट्रोल पम्पमा आगो लाग्दा उक्त दुर्घटना भएको हो। आगो अग्नि नियन्त्रण कार्यालयका साथै सुरक्षा निकायको सहयोगमा नियन्त्रणमा लिइएको छ।
रूसी स्वास्थ्य मन्त्रालयले मखाचकलाका अस्पतालमा धेरै घाइते भर्ना भएको र मृतकको सङ्ख्या बढ्नसक्ने बताएको छ।
दागेस्तानका प्रमुख सर्गेई मेलिकोभले पत्रकारहरूसँगको कुराकानीमा दुर्घटनाको अनुसन्धान भइरहेको बताए। उनका अनुसार व्यक्तिगत लापरबाहीका कारण उक्त दुर्घटना भएको हो वा होइन भन्ने यकिन भने भइसकेको छैन।
दुर्घटनापछि घटनास्थल नजिको बस्तीका मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।