काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनतामा भिज्ने गरी पार्टीका कार्यक्रममा सक्रिय हुनुपर्ने बताएका छन्। कार्यक्रम गर्दा खर्च धेरै, तर परिणाम कम आउने खालको कार्यशैली बदल्नुपर्ने उनको भनाइ छ।
‘माछा जसरी पानीमा रमाउँछ, त्यसैगरी हामी जनतामा भिज्नुपर्यो,’ मंगलबार बिहान काठमाडौंको नयाँबानेश्वरमा आयोजित बागमती प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘कार्यक्रम गर्दा सकेसम्म कम खर्च गरेर गरौं। धेरै खर्च गर्ने तर परिणाम थोरै निकाल्नु हुँदैन। बरु दुःख गरौं न।’
उनले २०४६ सालभन्दा अघिको जस्तै पार्टी बनाउनुपर्ने चुनौती रहेको भन्दै पार्टीका सबै तह र संरचनामा विधि, पद्धति र नियमबाट चलाउनुपर्ने चुनौती रहेको बताए। त्यसका लागि पैसाको बलमा पार्टीमा चलखेल गर्नेहरुलाई ठेगाउन लगाउनुपर्ने उनले बताए।
पार्टीभित्र सुविधाभोगी गतिविधि अब रोक्नुपर्ने बताउँदै उनले भने, ‘काम नगर्ने तर पैसाको चलखेल गर्नेहरुलाई अब ठेगान लगाउनुपर्छ। त्यसका लागि पार्टी भित्रैबाट अभियान चलाउनुपर्छ।’
भ्रष्टाचार र अनियमितता रोक्दै टोल र वडाबाटै कार्यशैलीमा सुधार गरेमा कांग्रेस २०४६ सालभन्दा अगाडिको जस्तै सशक्त बन्ने उनले बताए। ‘बिस्तारै करेक्सन गरेर २०४६ अघिको जस्तै पार्टी बनाउनुपर्नेछ। त्यसो भयो भने कांग्रेसलाई कसैले च्यालेन्ज दिन सक्दैन,’ सिंहले भने ।
कांग्रेस लोकतान्त्रिक पार्टी भएको भन्दै सबैलाई खबरदारी गर्दै समस्याको समाधान गर्नेतिर लाग्नुपर्ने उनको भनाइ छ। ‘कम्प्लेन त सबैतिर छ। कम्प्लेन गरेर मात्र भएन नि। के गरेर समाधान गर्ने भन्नेतिर लाग्नुपर्यो,’ उनले भने, ‘मैले ५६ सालदेखि भन्दै आएको छु- टोल, वडासम्म विधि र नियमबाट चलाउनु पर्यो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।