डोनाल्ड ट्रम्प (फाइल तस्बिर)
काठमाडौं– अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध आफू पराजित भएको २०२० चुनावी नतिजालाई उल्ट्याउन प्रयास गरेको आरोप लागेको छ। ट्रम्पविरुद्ध जर्जियाको एउटा अदालतमा अभियोग पत्र दायर गरिएको हो।
फुल्टन काउन्टीको ग्रान्ड ज्युरीको तर्फबाट जारी गरिएको ४१–अभियोग पत्रमा ट्रम्पसहित अन्य १८ जनालाई ठगीको मुद्दामा अभियुक्त बनाइएको छ।
यो वर्ष ट्रम्पलाई चौथोपटक आपराधिक मामिलाको अभियोग लगाइएको हो। उनले सबै घटनाका आरोपहरु अस्वीकार गर्दै आएका छन्।
फुल्टन काउन्टी जिल्ला अधिवक्ता फानी विलिसले फेब्रुअरी २०२१ मा ट्रम्प र उनका सहयोगीविरुद्ध चुनावी हस्तक्षेपको आरोपमा अनुसन्धान सुरु गरेका थिए।
सोमबार राति अभियोग लगाइएका प्रतिवादीहरूको सूचीमा ट्रम्पका पूर्व वकिल रुडी जिउलियानी, ह्वाइट हाउसका पूर्व चीफ अफ स्टाफ मार्क मीडोज, ह्वाइट हाउसका पूर्व वकिल जोन ईस्टम्यान र न्याय विभागका पूर्व अधिकारी जेफ्री क्लार्क समावेश छन्।
अभियोग पत्रमा ट्रम्पका सहयोगीलाई सहायक षड्यन्त्रकारीको संज्ञा दिँदै उनीहरु जानाजानी ट्रम्पको पक्षमा चुनावको नतिजा गैरकानुनी रुपमा परिवर्तन गर्ने षड्यन्त्रमा सामेल भएका दाबी गरिएको छ।
अभियोग पत्रमा प्रतिवादीहरूलाई ‘आपराधिक संगठन’को रूपमा पनि उल्लेख गरिएको छ। उनीहरुले गलत बयान दिएको तथा लेखेको, सार्वजनिक अधिकारीको नक्कल गरेको, जालसाजी गरेको, नक्कली कागजात पेस गरेको, साक्षीहरुलाई प्रभावमा पारेको, कम्प्युटरमा गलत तरिकाले पहुँच स्थापित गरेको, राज्यलाई धोका दिने षड्यन्त्र गरेको तथा चोरी र किर्ते गरेको आरोप अभियोगपत्रमा लगाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।