फाइल तस्बिर काठमाडौं– बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न आवश्यक नभएको निष्कर्ष निकालेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान गरिरहेकाले त्यसलाई नै प्रभावकारी बनाउनुपर्ने बारेमा छलफल भएको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए।
एमालेले सुन प्रकरणमा भइरहेको अनुसन्धानलाई डाइभर्ट गर्न उक्त माग गरेकाले समिति गठनको आवश्यकता नरहेको कुरा नेताहरुले बैठकमा उठाएको पाण्डेको भनाइ छ।
‘सीआईबीले सुनको प्रकरणमा अनुसन्धान गरिरहेको छ। उच्चस्तरीय आयोग आवश्यक छ कि छैन भन्नेमा छलफल भयो। छलफलमा उच्चस्तरीय आयोग माग्नु भनेको छानबिनलाई अवरोध गर्नु र यो केसलाई डाइभर्ट गर्नु हो भन्ने कुरा भयो’, उनले भने।
यस्तै गौर हत्याकाण्डका विषयमा पनि बैठकमा छलफल भएको छ। उक्त प्रकरणमा यसअघि नै चारवटा प्रतिवेदन बनिसकेको र त्यसमा मारिएका व्यक्तिका परिवारले १० लाख राहत पाइसकेको तथा सहिद घोषणा गर्ने निर्णय पनि भइसकेकाले कानुनी तवरबाट टुंग्याउने कुरा भएको नेता पाण्डेले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।