एजेन्सी– भारतमा अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा २४ जनाको मृत्यु भएको छ। मृतकमध्ये नौ जनाको मन्दिर भत्किँदा मृत्यु भएको छ भने दर्जनौं बेपत्ता भएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन्।
केही दिनदेखिको मुसलधारे वर्षाका कारण उत्तरी राज्य उत्तराखण्ड र हिमाञ्चल प्रदेशमा सवारी साधन बगाएको छ, भवन र पुलहरू भत्किएका छन्।
बाढी र पहिरो सामान्य कुरा हो र यसले भारतको जोखिमपूर्ण मनसुनको मौसममा व्यापक विनाश निम्त्याउँछ। विशेषज्ञहरूका अनुसार जलवायु परिवर्तनले यसको आवृत्ति र गम्भीरता बढाइरहेको छ।
सबैभन्दा बढी प्रभावित राज्य हिमाञ्चल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले पछिल्लो २४ घण्टामा कम्तीमा १६ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। ‘स्थानीय प्रशासनले अझै फसेका व्यक्तिहरूको उद्धार का लागि भग्नावशेष हटाउन लगनशीलताका साथ काम गरिरहेको छ,’ मुख्यमन्त्रीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
सुखुले स्थानीय बासिन्दालाई घरभित्रै बस्न र नदी नजिक नजान आग्रह गरेका छन्। प्रभावित हिमाञ्चल राज्यका विद्यालयहरू बन्द गरिएको उनले बताए। छिमेकी राज्य उत्तराखण्डमा भारी वर्षाका कारण पहिरो जाँदा मानिसहरू पुरिएको आशंकामा उद्धार टोलीहरू भग्नावशेष हटाउन निरन्तर खटिरहेका छन्।
राज्यमा शुक्रबारदेखि अहिलेसम्म कम्तीमा आठ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। मनसुनले दक्षिण एसियामा वार्षिक वर्षाको करिब ८० प्रतिशत वर्षा ल्याउँछ र यो कृषि र लाखौंको जीविकोपार्जनका लागि महत्वपूर्ण छ। तर यसले हरेक वर्ष पहिरो र बाढीको रूपमा विनाश पनि ल्याउँछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।