नयाँ दिल्ली– शाहरुख खान स्टारर फिल्म ‘जवान’ यतिबेला चर्चामा छ। चलचित्रको दोस्रो गीत रिलिजको तयारीमा रहेको बेला रेड चिलिज इन्टरटेनमेन्टको उजुरीका आधारमा प्रहरीले अज्ञात अभियुक्तविरुद्ध मुद्दा दर्ता गरेको जानकारी प्राप्त भएको छ।
कम्पनीले एफआइआरमा दिएको बयानअनुसार हाल फिल्म ‘जवान’को निर्माण कार्य चलिरहेको छ। ‘जवान’को छायांकनका क्रममा कम्पनीमार्फत् कुनै पनि कर्मचारी वा उपस्थित व्यक्तिलाई मोबाइल फोन प्रयोग गर्न र त्यसमा छायांकन गर्न निषेध गरिएको छ।
‘कम्पनीको अनुमतिबिना कसैले फिल्मको क्लिप चोरेर सामाजिक सञ्जाल ट्वीटरमा भाइरल गरेको हामीले थाहा पाएका छौं। गुनासोमा क्लिप भाइरल बनाउने ट्विटर ह्यान्डल र खाताहरू पनि सूचीबद्ध छन्,’ बयानमा भनिएको छ।
कम्पनीले यस सम्बन्धमा दिल्ली उच्च अदालतमा व्यावसायिक मुद्दा दायर गरेको पनि उजुरीमा दाबी गरिएको छ।
जसमा दिल्ली उच्च अदालतले ट्वीटर कम्पनीसँग सम्बन्धित खातावालाहरूलाई भाइरल क्लिप हटाउन निर्देशन दिएको थियो र अहिले उक्त क्लिप हटेको छ।
कम्पनीले प्रतिलिपि अधिकार उल्लङ्घन र अनुमतिबिना फिल्मलाई भाइरल बनाएर मूल्य घटाउने षड्यन्त्र भएको भन्दै सान्ताक्रूज प्रहरी चौकीमा उजुरी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।