काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संघीय संसद्का दुवै सदनको बैठकमा पुर्याउँदै आएको अवरोधको श्रृङ्खलालाई जारी राखेको छ। एमालेको अवरोधका कारण शुक्रबार राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठक स्थगित भएका छन्।
शुक्रबार राष्ट्रिय सभाको बैठकमा एमालेले गरेको अवरोधप्रति सत्ता पक्षका सांसदले विरोध जनाएका थिए। उस्तै अवस्था प्रतिनिधि सभाको बैठकमा पनि दोहोरियो।
सभामुख देवराज घिमिरेले शुक्रबार प्रतिनिधि सभाको बैठक सुरु भएको घोषणा गरेलगत्तै एमालेका सांसदहरुले उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख घिमिरेले एमाले सांसद ज्वालाकुमारी साहलाई बोल्ने समय दिए।
साहलाई बोल्न समय दिइएपछि सत्ता पक्षका सांसदहरुले उठेर विरोध जनाए। सत्ता पक्षका सांसदहरु पनि उठेपछि सभामुख घिमिरेले सदनको बैठक आफ्नो तजबिजीमा चल्ने र आफूले प्रतिपक्षी दलका सांसद साहलाई बोल्ने समय दिएको भन्दै सत्ता पक्षका सांसदलाई बस्न आग्रह गरे।
सत्ता पक्षका सांसदको विरोधका बीच एमाले सांसद साहले आफ्नो भनाइलाई निरन्तरता दिइन्। उनले सरकारले आफू बच्नका लागि १ क्विन्टल सुन तस्करीको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई दिएको बताइन्। उनले उच्चस्तरीय छानबिन समिति गठन गरेर गृहमन्त्री र अर्थमन्त्रीलाई छानबिनको दायरामा ल्याउनुपर्ने माग राखिन्।
साहले बोलिसकेपछि एमाले सांसदहरु नाराबाजी गर्दै वेल घेराउ गर्न पुगे। एमाले सांसदहरुले करिब ११ मिनेट नाराबाजी गरेपछि सभामुख घिमिरेले प्रतिनिधि सभा बैठक स्थगित गरे।
सभामुख घिमिरेले अर्को बैठक साउन २९ गते (सोमबार) दिनको १ बजे बस्ने जानकारी गराउँदै शुक्रबारको बैठक स्थगित भएको घोषणा गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।