काठमाडौं– संघीय संसद्को माथिल्लो सदन, राष्ट्रिय सभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गरेको अवरोधप्रति सत्तापक्षका सांसदहरुले विरोध जनाएका छन्।
शुक्रबार बसेको राष्ट्रिय सभाको बैठक नियमित कार्यसूचीमा प्रवेश गरेपछि एमालेका सांसदहरुले उठेर विरोध जनाएका थिए। राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले भैरवसुन्दर श्रेष्ठलाई बोल्ने समय दिएपछि सत्ता पक्षका सांसद पनि उठेका हुन्।
शुक्रबारको बैठकको सुरुमा सबै पक्षका सांसदहरुले समसामयिक विषयमा धारणा राखेका थिए। नेपाली कांग्रेस, एमाले लगायतका सांसदहरुले आफ्नो धाराणा राखे।
आफ्नो धारणा राख्ने क्रममा नेकपा एमालेकी सांसद विमला राई पौड्यालले १ क्विन्टल सुन तस्करी प्रकरणमा सीआईबीले गरिरहेको अनुसन्धनमा अवरोध गर्नुभन्दा पनि सत्य, तथ्य पत्ता लगाउन प्रतिपक्षले उच्चस्तरीय समिति गठनको माग गरेकाले समिति गठन गरेर सदन खुलाउनुपर्ने बताइन्।
पौड्याल बोलेपछि राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले विशेष समयमा बोल्ने क्रम सकिएको भन्दै बैठकलाई नियमित कार्यसूचीअनुसार सञ्चालन गर्न खोजे। राष्ट्रिय सभा अध्यक्षले बैठकलाई नियमित कार्यसूचीमा लैजान खोजेपछि एमाले सांसद्हरुले उठेर विरोध जनाएका थिए।
उठेर विरोध जनाकामध्ये एमाले सांसद श्रेष्ठलाई अध्यक्ष तिमिल्सिनाले बोल्ने पालो दिएका थिए। तर, सत्ता पक्षका सांसदहरुले बैठकलाई नियमित कार्यसूचीअनुसार सञ्चालन गर्नुपर्ने भन्दै उठेर विरोध जनाए।
प्रतिपक्षसँगै सत्ता पक्षका सांसद पनि उठेपछि अध्यक्ष तिमिल्सिनाले बैठक कसरी सञ्चालन गर्ने भन्दै प्रश्न गरे। सत्ता पक्ष उठेपछि उनले प्रतिपक्षी सांसदलाई बस्न आग्रह गरे।
‘सत्ता पक्ष उठेपछि प्रतिपक्ष बस्नुस्। यस्तो पनि अभ्यास हुन्छ भनेर नयाँ अभ्यास गरौँ,’ तिमिल्सिनाले भने। अध्यक्षको अभिव्यक्तिले राष्ट्रिय सभाको बैठकमा हाँसो गुञ्जियो। तर दुवै पक्षका सांसदहरु बस्न मानेनन्।
अध्यक्ष तिमिल्सिनाले उठेरै संसद् चलाउने त? भनेर पनि प्रश्न गरे। ‘सत्ता पक्षलाई प्रतिपक्षप्रति कति सद्भाव रहेछ कि उहाँहरु (प्रतिपक्ष) मात्रै कति उठ्ने भनेर उहाँहरु पनि उठ्नुभाछ। त्यसैले सबै बसौँ अनि मिलेर संसद् चलाउँ,’ व्यंगात्मक शैलीमा अध्यक्ष तिमिल्सिनाले भने, ‘कि उठि उठिकन संसद् चलाउने नयाँ अभ्यास गरौं।’
सत्ता पक्ष र प्रतिपक्ष, दुवै पक्षका सांसद आफ्नो आसनमा नबसेपछि अध्यक्ष तिमिल्सिनाले शुक्रबारको बैठक स्थगित गरिदिए। अध्यक्ष तिमिल्सिनाले अर्को बैठक साउन ३१ गते १ बजे, बुधबार बस्ने गरी स्थगित गरिएको जानकारी दिए।
साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएर बाहिरिएको १ क्विन्टल सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको विषयमा एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै संसद् अवरुद्ध पार्दै आएको छ। एमालेको अवरोधका कारण साउन १० गते यता संघीय संसद्का दुवै सदनको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न पाएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।