काठमाडौं– सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक जारी छ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा संसद्को अवरोध हटाउने विषयमा छलफलका लागि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने प्रमुख तीन दलका शीर्ष नेतालाई राखेर घिमिरेले छलफल गरिरहेका छन्।
जारी बैठकमा सदनको अवरोध हटाउने विषयका साथै संसदीय समितिलाई पूर्णता दिनेबारे पनि छलफल भइरहेको छ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी छन्। यस्तै बैठकमा दलका प्रमुख सचेतक र सचेतक पनि सहभागी छन्।
सुन तस्करी प्रकरणबारे विशेष छानबिन समितिको माग गर्दै एमालेले सदन अवरोध गर्दै आएको छ। साउन १० गते एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानिबिन समितिको माग गर्दै अवरोध गरेपछि त्यसयता बैठक बस्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।