काठमाडौं– सभामुख देवराज घिमिरेले प्रमुख ३ दल, नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताको बैठक बोलाएका छन्। संसद्मा जारी अवरोध खुलाउने विषयमा छलफल गर्न सभामुखले प्रमुख दलका नेताहरुको बैठक बोलाएका हुन्। बैठक सोमबार मध्याह्न १२ बजे, सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बस्ने जनाइएको छ।
सभामुखले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख सचेतक वा सचेतकसहित उपस्थित हुन भनेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएर बाहिरिएको तस्करीको १ क्विन्टल सुन बरामद प्रकरणले पछिल्लो समय संसद्का दुवै सदनका बैठकहरु प्रभावित हुँदै आएका छन्।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरी समिति गठन गरिनुपर्ने माग गर्दै सदन अवरुद्ध गर्दै आएको छ। एमालेले प्रतिनिधि सभाको साउन १० गतेको बैठकमा उच्चस्तरीय समिति गठनको माग गर्दै अवरोध सिर्जना गरेको थियो।
एमालेको अवरोधपछि साउन १० गतेको बैठक स्थगित गर्दै सभामुख देवराज घिमिरेले अर्को बैठक साउन १५ गते, सोमबार बस्ने जानकारी दिएका थिए। साउन १५ गते बस्दै नबसी अर्को दिन (साउन १६ गते, मंगलबार)का लागि बैठक सारियो। मंगलबार पनि बैठक बसेन।
सूचना टाँस गरेर नै प्रतिनिधि सभा बैठक १ हप्ताका लागि सारिएको थियो।
यसबीचमा सभामुख घिमिरेले साउन १५ र १६ गते प्रधानमन्त्री र विपक्षी दलका नेतासँग दुई–दुईपटक टेलिफोन संवाद गरेका थिए। सभामुखले प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुसँग विभिन्न चरणमा ६ पटक भन्दा बढी छलफल गरेका थिए।
आइतबार सिंहदरवारमा प्रमुख सचेतकहरुसँग छलफल गरेका सभामुखलाई सदनको अवरोध खुलाउन शीर्ष नेताकै तहमा बैठक बस्नुपर्ने सुझाव नेताहरुले दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।