काठमाडौं– मारवाडी सेवा समाजले प्रयोग गर्दै आइरहेको पशुपति धर्मशालाको जग्गाको भाडा नवीकरण गरी सम्झौता गर्न १५ दिनको म्याद दिइएको छ।
बुधबार बिहान संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बसेको पशुपति क्षेत्र विकास कोषको बैठकले सो निर्णय गरेको हो।
मारवाडी सेवा समाजले २०६० जेठ ९ गतेबाट क्षेत्र विकासकोषको गौसालामा रहेको ९ रोपनी जग्गा वार्षिक ५१ हजारमा प्रयोग गर्दै आइरहेको थियो। कौडीको भाउमा प्रयोग गर्दै आएको उक्त जग्गामा मारवाडी सेवा समाजले धर्मशाला सञ्चालन गर्दै आइरहेको छ।
धर्मशालको नाममा शुल्कसमेत लिँदै आएकोले जनस्तरमा यसको चर्को विरोध भैरहेका बेला पशुपति क्षेत्र विकास कोषले भाडा पुन: मूल्यांकन गरी सम्झौता गर्न १५ दिनको म्याद दिने निर्णय गरेको हो।
क्षेत्र विकास कोषकाअध्यक्ष समेत रहेका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले यसबारे बौल्दै पुरानो सम्झौता खारेज गरेको बताए।
‘सम्बन्धित संस्थाले गरेको समाज सेवाको उच्च मूल्यांकन गर्दै नेपालको प्रचलित कानुन, अख्तियार अनुसन्धन आयोगको निर्देशन र सर्वोच्च अदालनको फैसलाको आधारमा समय सापेक्ष सम्झौता र दीर्घकालीन समस्या समाधानका लागि आजसम्मको सम्झौता खारेज गर्ने निर्णय गरेको हो,’ उनले भने।
यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सर्वोच्च अदालतलेसमेत भाडा पुन: नवीकरण गर्नु भनी निर्णय गरेको थियो। तथापी विभिन्न बाहनामा मारवाडी सेवा समाजले उक्त निर्णय कार्यान्वयन गर्न आलटाल गरिरहेको थियो।
यो पनि:
वार्षिक ५१ हजार भाडामा ९ रोपनी जग्गा, साँढेको चरनक्षेत्रमा मारवाडी समितिको रजाईँ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।