काठमाडौं- कोशी प्रदेशका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएको कोशी प्रदेश सभा सचिवालयले जानकारी दिएको छ। मंगलबार उनले उपसभामुख सिर्जना दनुवारलाई सम्बोधन गरेर राजीनामा दिएका हुन्।
कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउनका लागि गौतमले राजीनामा दिएका हुन्। सत्ता गठबन्धनका निम्ति ४७ सांसदको हस्ताक्षर सुनिश्चित गर्न उनले राजीनामा दिएका हुन्।
यसअघि उनले सभामुखको पदमै रहेर थापाका निम्ति हस्ताक्षर गरेका थिए। सोही हस्ताक्षरसमेतका आधारमा उनी मुख्यमन्त्री समेत भएका थिए। तर त्यसलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरिदिएको थियो।
यो पनि :
कोशी सरकार गठनमा नयाँ ‘ट्विइस्ट’, जसपाले राख्यो प्रदेशको नाम बदल्नुपर्ने माग
त्यसपछि गौतमलाई सभामुखबाट राजीनामा गराएर माओवादी सांसदको रुपमा संख्या गणना गर्ने प्रयत्न सत्ता पक्षको थियो। गौतमलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत राजीनामाका लागि दबाब दिएका थिए।
गौतम केही दिनयता काठमाडौंमा थिए। उनी राजीनामा गर्नकै लागि मंगलबार दिउँसो विराटनगर पुगेका हुन्।
सभामुखको राजीनामासँगै सत्ता गठबन्धनको तर्फबाट थापाले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।