काठमाडौं– कोशी प्रदेशको नयाँ सरकार गठनको विषयमा नयाँ ‘ट्विस्ट’ देखा परेको छ। मुख्यमन्त्रीमा दावी गर्ने समय घर्कनै लाग्दा कांग्रेस-माअोवादी गठबन्धनमै रहेको जनता समाजवादी पार्टीले नयाँ माग तेर्स्याएको छ।
१ मात्र सांसद रहेको सो दलले समर्थन नगर्ने बित्तिकै सरकार गठन हुन सक्दैन। किनभने सरकार गठनका लागि बहुमत पुर्याउन ४७ सिट आवश्यक पर्छ। जसपा बाहिरिए उक्त संख्या पुग्नेछैन।
जसपा कोशी प्रदेश अध्यक्ष दीपक याक्खाले कोशी प्रदेशको नामकरण पहिचानको आधारमा हुनुपर्नेमा सहमत भएमा मात्र पार्टीले समर्थन गर्ने बताएका छन्।
‘हामी ठूला पार्टीहरूबाट प्रदेशको नाम पहिचानका आधारमा हुनुपर्छ भन्नेमा प्रतिवद्धता चाहन्छौँ। त्यो पनि लिखित। तर उहाँहरू सहमत हुनुहुन्न,’ सम्भावित परिदृश्यबारे आकलन गर्दै उनी भन्छन्, ‘उहाँहरूबाट सहमति नआएमा हामी समर्थन गर्दैनौँ।’
यसअघि सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर बहुमत पुर्याउने कसरतमा लागेको सो गठबन्धनलाई जसपाको मागले संकटमा पारेको छ।
तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले कोशी प्रदेश राख्ने प्रस्तावमा जसपा र ४ सांसद रहेको एकीकृत समाजवादीले फरक प्रस्ताव राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।