मुम्बई (एजेन्सी) – बलिउडको यस वर्षको बहुप्रतीक्षित फिल्म 'पद्मावती' को ट्रेलर सार्वजनिक भएसँगै यसको चर्चा व्यापक भएको छ । सञ्जय लीला भन्सालीको म्याग्नम ओपस पद्मावतीले जादु देखाइरहँदा सोसल मिडियामा यसको लोकप्रियता बढ्दो छ।
विशेष कुरा त 'पद्मावती' आउने कुराले दक्षिण भारतीय फिल्म क्षेत्रसम्म तरंग फैलिएको छ । दक्षिणको यस वर्षको सबैभन्दा ठूलो र बहुचर्चित फिल्म 'बाहुबली २ - द कन्क्लूजन' का निर्देशक एसएस राजामौलीले 'पद्मावती' को ट्रेलर हेरेपछि यसबारे विशेष रुपमा प्रतिक्रिया दिएका छन् । उनले ट्विटरमा फिल्मको ट्रेलर समेत राखेर ट्विट गर्दै अत्यन्तै सुन्दर रहेको बताएका छन्।
यसका साथै राजामौलीले पद्मावतीका निर्देशक सञ्जय लीला भन्सालीलाई 'मास्टर क्राफ्ट्सम्यान' को संज्ञा दिएका छन् । राजामौली फिल्ममा नकारात्मक चरित्र 'अलाउद्दीन खिलजी' को रुपमा देखिएका रणवीर सिंहबाट निकै प्रभावित देखिएका छन् । रणवीरको तारिफ गर्दै उनले ट्रेलरमा डरलाग्दो तर आकर्षित गर्ने चरित्र भएको बताएका छन्।
यसअघि 'बाहुबली'का 'भल्लाल देव' अर्थात् राणा दग्गुबटीले पनि रणवीरको लुकको प्रशंसा गरेका थिए । उनले अलाउद्दीन खिलजीको लुकलाई सेयर गर्दै रणवीरलाई बधाई दिएका थिए । राणाले ट्विट गरेका थिए- 'भयानक ! माहिष्मति राज्यको तर्फबाट सुन्तान अलाउद्दीनलाई धेरै शुभकामना!'
'पद्मावती'माथि बलिउड मात्र नभई दक्षिण भारतीय फिल्म क्षेत्रको समेत नजर टिकेको छ । ऐतिहासिक कथा प्रस्तुत गरिएकाले फिल्ममा हात्ती-घोडा, सेना, महल र युद्धका दृश्यहरु हुनेछन् । यस हिसाबले 'पद्मावती' को सामु ठूलो चुनौती छ, यसका एक-एक दृश्यको तुलना दक्षिण भारतीयको ब्लकबस्टर तेलगु फिल्म 'बाहुबली' सँग हुनेछ । यद्यपि दुवै फिल्मको कथावस्तु, पृष्ठभूमि र प्रस्तुत गरिएको समय फरक छ।
सम्बन्धित समाचार:
'पद्मावती' को यस्तो भव्य ट्रेलर, रणवीर सिंहको अगाडि दीपिका र शाहिद फिका
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।