काठमाडौं– ठमेलस्थित ओम्निया क्लबमा ग्याङसहित छिरेर ब्याउन्सर र कर्मचारीलाई कुटपिट गरेका गुण्डा नाइकेका रुपमा चिनिने सानुभाइ भनिने युवराज गुरुङमाथि सम्पत्ति शुद्धीकरण विभागले पनि छानबिन गर्ने भएको छ।
सानुभाइको आर्थिक पाटोबारे छानबिन गर्नुपर्ने भएकाले भन्दै सम्पत्ति शुद्धीकरण विभागले प्रहरीलाई पत्र लेख्दै सानुभाइलाई उपस्थित गराउन भनेको छ। आम्दानीको स्रोत र उनको आर्जन गरेको सम्पत्तिको पाटोबारे छानबिन गर्नुपर्ने भएकाले उपस्थित गराउन भन्दै पत्र आएको प्रहरी स्रोतले पुष्टि गरेको छ।
‘विगत केही वर्षदेखि उनी गुण्डागर्दीमा संलग्न रहेको, चन्दा उठाउने गरेको, स्थानीय तथा सर्वसाधारणबाट धम्क्याउँदै रकम असुल्ने गरेको भन्ने पाइएकाले उनको सम्पत्ति छानबिन गर्नुपर्ने देखिएकाले उपस्थित गराइदिनु हुन’ भन्दै विभागले प्रहरीलाई पत्र लेखेको छ।
ठमेलको क्लब ओम्नियामा प्रवेश गरेर कुटपिट गरेको घटनामा सानुभाइसहित उनका समूहका ८ जना पक्राउ परेका थिए। बाँकी ७ जना अभद्र व्यवहारको मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट जनही ८ हजार रुपैयाँ धरौटीमा रिहा भइसकेका छन्। तर सानुभाइ भने पटके अभियुक्त भएको भन्दै जिल्ला अदालतमा मुद्दा चलाइएको छ। उनको मुद्दाको आदेश आउन बाँकी नै रहेको छ।
धरौटीमा छाड्ने तथा पुर्पक्षमा राख्ने जे आदेश आए पनि अदालतको काम सकिएपछि सानुभाइलाई सम्पत्ति शुद्धीकरण विभाग पठाइने प्रहरी स्रोतले जानकारी दियो।
२०७२ पुस २५ गते जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट पक्राउ भइ उनीविरुद्ध हातहतियार तथा खरखजना मुद्दा चलेको थियो। त्यसैगरी प्रहरी वृत्त महाराजगञ्जबाट २०६७ कात्तिक ७ गते ज्यान मार्ने उद्योगको कसुरमा उनीविरुद्ध मुद्दा चलेको थियो। प्रहरी वृत्त दरबारमार्गबाट २०७६ पुस २५ गते बैंकिङ कसुरको मुद्दा चलेको थियो। बैंकिङ कसुर मुद्दामा १ दिन कैद र ३ लाख रुपैयाँ जरिवानाको फैसलासमेत भएको थियो।
सानुभाइ इन्काउन्टरमा मारिएका गुण्डा नाइके कुमार घैंटे समूहका व्यक्ति हुन्। उनी घैंटेको मुख्य सहयोगी भएर काम गर्थे। गुरु घैंटेको इन्काउन्टर भएपछि असुरक्षित मान्दै सानुभाइ बुलेटप्रुफ ज्याकेट लगाएर हिँड्थे। बुलेटप्रुफ ज्याकेट लगाएर हिँड्दै गरेको बेला २०७२ सालमा प्रहरीले उनलाई पक्राउ गरेको थियो।
त्यतिबेला उनको साथबाट पेस्तोल र गोलीसमेत बरामद भएको थियो। तर कुनै समय प्रहरीको डरले बुलेटप्रुफ ज्याकेट लगाएर हिँड्ने उनै सानुभाइ अहिले खुल्लमखुला गुण्डागर्दी गर्दै हिँड्न थालेका छन्।
सानुभाइले २०६७ सालमा नुवाकोटका निर्माण व्यवसायी अनिल श्रेष्ठलाई हप्ता असुली नदिएको भन्दै गोली प्रहार गरेका थिए। नुवाकोटकै होटल व्यवसायी सुरेश डंगोललाई पनि उनले गत वर्ष आक्रमण गरेका थिए। तर राजनीतिक दबाबकाबीच सानुभाइमाथि त्यतिबेला कुनै कारबाही भएन। उनी नेपाली कांग्रेस निकट मानिन्छन्।
उनको समूहले २०७८ सालमा नुवाकोट निवासी निर्माण व्यवसायी जीतबहादुर कार्कीलाई अंगभंग हुनेगरी आक्रमण गरेको थियो भने २०७९ को माघ मा गोर्खास्थित एक सांस्कृतिक कार्यक्रममा सहभागी हुन गएका उनले एक महिलामाथि बलात्कारको प्रयाससमेत गरेका थिए। उनलाई त्यहाँका स्थानीयहरुले समाते पनि उनी पेपर स्प्रे छर्किएर भाग्न सफल भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।