काठमाडौं– नुवाकोटको ककनी गाउँपालिकाका स्थानीयको अवरोधका कारण यही साउन १ गतेदेखि रोकिएको काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन पुनः सुरु गरिएको छ। काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठले त्यहाँका स्थानीयसँगको सहमतिपछि फोहोर व्यवस्थापन पुनः सुरु भइसकेको जानकारी दिए। उनका अनुसार रोकिएको फोहोर व्यवस्थापन ३ दिनभित्र पूरा भइसक्नेछ।
उनले सुरक्षाकर्मीको सहयोगमा शुक्रबार १५२ गाडी र शनिबार १६४ गाडी फोहोर व्यवस्थापन गरिएको बताए। उपत्यकाका सडकमा थुप्रिएको फोहोर सोमबारसम्म व्यवस्थापन गरिने र मंगलबारदेखि घर–घरको फोहोर पनि व्यवस्थापन हुने उनको भनाइ छ।
एक वर्षअघि काठमाडौं महानगरपालिका र स्थानीयबीच भएको सहमति कार्यान्वयन नभएको भन्दै त्यहाँका स्थानीयले यही साउन १ देखि फोहोर व्यवस्थापनमा अवरोध गर्दै आएका थिए। नुवाकोट ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका स्थानीयले बञ्चरेडाँडामा फोहोर व्यवस्थापन नगर्न भन्दै अवरोध गरेका थिए।
महानगरपालिकासँग भएको बाँकी सहमति बिस्तारै कार्यान्वयन गर्ने सर्तमा तत्कालका लागि अवरोध हटाउने सहमति भएको हो। अन्तिम फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा यसअघि थुपारेको फोहोरलाई क्यापिङ (फोहोरलाई माटोले पुर्ने) गरी औषधि राखेर दुर्गन्ध हटाएपछि स्थानीयको अवरोध हटेको धुनीबेँसी नगरपालिका वडा नम्बर १ का अध्यक्ष मानबहादुर तामाङले जानकारी दिए।
सामान्यतया काठमाडौं उपत्यकाका १८ स्थानीय तहको ३०० गाडी फोहोर दैनिकरूपमा व्यवस्थापन हुँदै आएको छ। विगत १५ वर्षसम्म सिसडोलमा फोहोर व्यवस्थापन हुँदै आएको गत भदौ ७ गतेदेखि बञ्चरेडाँडामा अन्तिम व्यवस्थापन हुँदै आएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।