झापा- महामारीको रुपमा फैलिएको लम्पी स्किन रोगबाट कोशी प्रदेशका दुई लाख २५ हजार चार सय २३ गाईभैँसी सङ्क्रमित भएका छन्। यो प्रदेशमा लम्पी स्किनबाट पाँच हजार ५२ पशु मरेका छन्।
लम्पी स्किनबाट शुक्रबारसम्ममा पाँच हजार ४२ गाईभैँसी मरेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले जनाएको छ। निर्देशनालयका फोकल पर्सन डा देवकुमार दर्लामीका अनुसार लम्पी स्किनको सङ्क्रमण कोशीका सबै जिल्लामा फैलिएको छ भने इलाम, झापा, मोरङ, पाँचथर, सुनसरी र उदयपुरमा सबैभन्दा बढी क्षति भएको छ।
प्रदेशभर चार हजार ९७९ गाई-गोरु र ६१ रागा-भैँसी मरेका छन्। तीमध्ये सबैभन्दा बढी इलाममा एक हजार ३८२ गाई-गोरु र राँगा-भैँसी मरेको निर्देशनालयले जनाएको छ। झापामा पाँच सय चार, पाँचथरमा चार सय २२, मोरङमा चार सय ८८, उदयपुरमा तीन सय ८५, सुनसरीमा तीन सय ६२, खोटाङमा दुई सय ७९, धनकुटामा दुई सय ७७, सङ्खुवासभामा दुई सय ८५, ओखलढुङ्गामा दुई सय दुई, तेह्रथुममा एक सय ४४, ताप्लेजुङमा एक सय ७०, भोजपुरमा ८३ र सोलुखुम्बुमा ३५ गाईगोरु र राँगाभैँसी लम्पी स्किनको सङ्क्रमणबाट मरिसकेका छन्।
मृत्युदर इलाममा धेरै भए तापनि प्रभावित पशु पाँचथरमा धेरै छन्। तथ्याङ्कअनुसार पाँचथरमा ३३ हजार ८७ गाई-गोरु र राँगा-भैँसी लम्पी स्किनबाट सङ्क्रमित रहेको निर्देशनालयका फोकल पर्सन डा दर्लामीले जानकारी दिए।
उनका अनुसार इलाममा ३१ हजार तीन सय ४९, धनकुटामा २१ हजार पाँच सय ६८, उदयपुरमा २१ हजार एक सय ८८, सुनसरीमा १७ हजार आठ सय ८६, तेह्रथुममा १५ हजार नौ सय ८६, मोरङमा १३ हजार आठ सय ९०, सङ्खुवासभामा १३ हजार चार सय ६०, खोटाङमा १२ हजार ९ सय १०, ओखलढुङ्गामा सात हजार ६ सय ९४, ताप्लेजुङमा सात हजार छ सय २३, भोजपुरमा सात हजार एक सय ५२ र सोलुखुम्बुमा सात सय पाँच गाई-गोरु र राँगा-भैँसीमा लम्पी स्किनको सङ्क्रमण पुष्टि भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।