विसं २०३५/०३६ सालसम्म नेपालका प्रसिद्ध चलचित्र निर्देशक तुलसी घिमिरे हिन्दी फिल्मको स्थापित सम्पादक थिए। उनी मुम्बईमा ‘ए’ ग्रेडका फिल्म सम्पादन गर्थे।
बलिउडमा नाम चलेका फिल्म सम्पादक अचानक नेपाल कसरी आए?
यसबारे घिमिरेले थुप्रै पटक भनिसकेका छन्। उनलाई एकदिन गुरुले भनेका थिए, ‘तिम्रो भाषामा भर्खर फिल्म बन्दै छन्। १० वटा फिल्म बनाएर फर्कनु।’
यो गुरुआज्ञाको पछाडि नेपालका त्यतिबेलाका चर्चित निर्देशक प्रकाश थापाको हात जोडिन्छ। प्रकाश एकदिन नेपालबाट ‘सिन्दुर’ फिल्मको गीत सम्पादन गर्न एउटा स्टुडियो पुग्छन्। त्यही स्टुडियोमा तुलसी कार्यरत थिए। दुई नेपाली आपसमा भेटिएपछि नेपाली भाषामै बोल्छन्। तुलसी र प्रकाशले एकापसमा गरेको कुराकानी तुलसीको गुरुलाई अनौठो लागेछ।
‘गुरुले हाम्रो संवाद सुनिरहनुभएको थियो। उहाँले यो कुन भाषा भनेर सोध्नुभयो। मैले बताएँ। त्यसपछि उहाँले नेपाली भाषामा बनेका फिल्मबारे चासो राख्नुभयो,’ उनी सम्झन्छन्।
त्यतिबेला नेपालमा फिल्म नगण्य मात्रामा बन्थे। त्यो थाहा पाएपछि गुरुले गुरुआज्ञा दिए, नेपाली भाषाका १० फिल्म बनाउने।
तुलसीले असमर्थता राख्न नपाउँदै गुरुले धाप मारे।
‘एक दुईदिनमा गुरुलाई गएर पैसा जुटाउन सकिँदैन। त्यसकारण सम्भव छैन भन्छु भनेर सोचेको थिएँ, ’ तुलसी सम्झन्छन्, ‘तर मैले भन्नै पाइनँ। मलाई आज्ञा दिएको एक सातामै गुरुको निधन भयो।’
तुलसीले अब गुरु आज्ञा पालना गर्नैपर्थ्यो।
उनले पहिलो फिल्म ‘बाँसुरी’ बनाए। विवादका कारण नेपालमा रिलिज गर्नै पाएनन्। त्यसपछि आफैं लगानी जुटाएर ‘कुसुमे रुमाल’ बनाए। फिल्म क्षेत्रमा यसले तहल्कै पिट्यो। त्यसपछि लगातार बनाएका फिल्महरूले नयाँ कलाकार जन्माए, नयाँ सम्भावनाको बाटो कोरे।१०औँ चलचित्रको रुपमा ‘दक्षिणा’ बनाए।
यतिन्जेलसम्म तुलसी नेपालका चर्चित निर्देशक बनिसकेका थिए।
१०औं चलचित्रलाई गुरुदक्षिणाको रुपमा अर्पँदै उनी मुम्बई फर्कने सोचमा थिए।
तर उनलाई प्रकाश थापा लगायतका साथीहरूले रोके। प्रकाश तिनै थिए, जोसँग भेट नभएको भए गुरुले नेपाली भाषाबारे तुलसीलाई सोध्ने थिएनन्। तुलसीले भन्ने थिएनन्। त्यसपछि गुरुले तिम्रो भाषामा फिल्म बनाउनु भनेर आज्ञा दिने थिएनन्। तुलसी नेपाल फर्कने पनि थिएनन्।
आज म तिनै प्रकाश र तुलसीका केही किस्साबारे चर्चा गर्दैछु। एक भेटमा तुलसीले आफूले हुर्काएको नेपाली फिल्म क्षेत्रबारे लामै कुरा गरेका थिए। त्यही क्रममा उनले पटक–पटक निर्देशक प्रकाश थापाको नाम लिइरहे। प्रकाश ‘सिन्दुर’, ‘जीवनरेखा’, ‘सन्तान’, ‘कन्यादान’जस्ता प्रसिद्ध फिल्मका निर्देशक हुन्।
प्रकाशले तुलसीलाई गरेको गाली पत्रिकामा छापियो
प्रकाश र तुलसीको भेट हुनासाथ झगडा सुरु भइहाल्थ्यो। तुलसी प्रकाशलाई उक्साउँथे, अनि प्रकाश झगडा गर्न तम्सिहाल्थे। एकपटक एकजना पत्रकारले प्रकाशलाई उक्साएर तुलसीबारे प्रश्न सोधेछन्। प्रकाशले तथानाम गाली गरेछन् तुलसीलाई। भोलिपल्ट त्यो गाली पत्रिकामा छापिएछ।
ती पत्रकार गाली छापिएको पत्रिका बोकेर तुलसीकहाँ पुगेर भनेछन्, ‘दाइ, यो के भनेका प्रकाश थापाले। तपाईं पनि यसको जवाफ दिनुस् त।’
‘मैले गालीको जवाफ नम्र भएर दिएँ। मेरो दृष्टिमा प्रकाश दाइ महान मान्छे हुनुहुन्छ भनेर लामो व्याख्या पठाएँ,’ उनी सुनाउँछन्।
एक हप्तापछि उनको जवाफ पत्रिकामा छापियो। त्यो पढेपछि प्रकाश झन् मुर्मुरिएछन्। प्रकाशलाई लागेछ, ‘त्यति धेरै गाली गर्दा पनि मेरो बारेमा यति राम्रो कुरा बोलेको छ।’ प्रकाश तुलसीकहाँ गएछन्। उनले रिसालु लवजमा तुलसीलाई सोधेछन्, ‘के छ।’
तुलसीले जवाफ दिएछन्, ‘ठिकै छ दाइ।’
त्यहाँ गीतकार चेतन कार्की पनि सँगै थिए। चेतनले प्रकाशतिर हेर्दै भनेछन्, ‘लात, थप्पड फर्काइ फर्काइ भेट्यौ हैन त!’ तिम्रो कुराको जवाफ पढ्यौ?’
त्यसपछि प्रकाशले मुर्मरिँदै भने, ‘मेरो कुराको जवाफ यसले यसरी दिने हो?’
तुलसीले मुसुक्क हाँस्दै भने, ‘मैले जानेकै यति नै हो दाइ।’
रिसले चुर भएका प्रकाशले तुलसीलाई ठूल्ठूलो स्वरमा भने, ‘जानेको होइन यसले, यो पोलिटिसियन हो, पोलिटिसियन।!
तुलसीलाई कसैले सुनायो– प्रकाश दाइ बित्नुभयो
प्रकाश बिरामी थिए। उनी काठमाडौंको एक अस्पतालमा उपचाररत थिए। त्यतिबेला तुलसीलाई कसैले आएर भनिदियो, ‘प्रकाश दाइ बित्नुभएछ।’
यो सुनेर तुलसी मर्माहत भए। तुलसीसँग एकजना रेकर्डिस्ट थिए। उनले भने, ‘बोर भयो भाइ। जाऊँ, खादा किन्न।’
खादा किनेर तुलसी र ती रेकर्डिस्ट हतार हतार प्रकाशलाई राखिएको अस्पताल पुगे। पुगेपछि प्रकाशको छोरालाई सोधे, ‘बुबा खै?’
छोराले भने, ‘माथि हुनुहुन्छ।’
अस्पतालको बेडमा प्रकाश सुतिरहेका थिए। तुलसीले कसैले आफूलाई झुटो खबर फैलाइएको थाहा पाइहाले। प्रकाश देखेपछि उनी खुसी भए। तुलसी आएको थाहा पाउनेबित्तिकै प्रकाशले झट्ट आँखा उघारिहाले। तुलसीले प्रकाशलाई बोलाउँदै भने, ‘मरेको रैनछौ त।’
‘तँलाई अगाडि नलगाई म मर्छु। तेरो मलामीमा म अगाडिपट्टि हुन्छु,’ प्रकाशले भने।
केहीबेर उनीहरूको भनाभन पर्यो। त्यसपछि तुलसीले खादा देखाउँदै भने, ‘तिमी मर्यौ भनेको सुनेर खादा किनेर ल्याएको हामीले त।’
त्यसपछि त प्रकाश मुर्मुरिइहाले। ‘साला, म अस्पताल हुँदा मर्यो भनेर आउने? अब हेर। तँलाई खादा त म कसरी लगाउँछु।’
एकैछिनमा प्रकाश र तुलसी दुवै हाँस्न थाले। उनीहरू हाँसेको सुनेर भित्र डाक्टर आएर भने, ‘तुलसी जी, तपाईं बाहिर गइदिुनस्।’
तुलसी बाहिर जानासाथ डाक्टर पनि सँगसँगै निस्किए। त्यसपछि डाक्टरले सुटुक्क भने, ‘हँसाउनु हुँदैन उहाँलाई। तपाईंहरू अघिदेखि जोड जोडले हाँसिरहनुभएको छ।’
प्रकाशलाई जति हाँस्यो, उति गाह्रो हुने रहेछ। भित्रबाट उनी तुलसीलाई बोलाउँदै थिए,‘ओई। भागिस्।’
तुलसीले उसैगरी बाहिरबाट भने, ‘भागेको छैन। आउँदैछु।’
प्रकाशको अवस्था गम्भीर रहेको थाहा पाएपछि तुलसी चिन्तित देखिए। अब प्रकाशलाई बाँच्न उत्प्रेरित गराउनु थियो।
भोलिपल्ट प्रकाशकहाँ पुगेर तुलसीले भने, ‘दाइ, सुतिरहने अब? उठ्नु। एउटा राम्रो प्रपोजल आएको छ। कथा मेरो हो। निर्देशन तपाईंको। बजेट पनि राम्रो छ।’
‘कस्तो छ?’ प्रकाशले जोसिँदै भने।
‘एकदम राम्रो छ भनेँ नि,’ तुलसीले भने।
‘तैँले चाहिँ किन नगर्ने डाइरेक्सन?’ प्रकाशले सोधे।
‘गर्नु त मैले नै गर्नपर्ने। त्यो प्रोडुसरलाई प्रकाश थापा नै चाहियो नि त,’ तुलसीले भने।
त्यसपछि प्रकाश हाँसे, ‘देखिस्, म भनेको मै हो नि।’
‘हो त, त्यही भएर छिटो गरी उठ्नू,’ तुलसीले भने।
फिल्म ‘महामाया’ले नोक्सानी व्यहोरेपछि प्रकाशलाई ठूलो आघात परेको थियो। उनी पुनः नयाँ फिल्मबाट उभिन चाहन्थे। प्रकाशले खुसी हुँदै भने, ‘ल स्टोेरी यहीँ बसेर पढौँ।’
‘यहाँ बसेर हुन्न दाइ। को को आउँछन्। स्टोरी खुस्किन्छ। तपाईंको घर गएपछि घरमा सुनम्ला,’ तुलसीले भने, ‘एउटा रोल म गर्छु। अनि अब आउने मेरो फिल्ममा प्रकाश थापा हुन्छ। र प्रकाश थापाको फिल्ममा तुलसी घिमिरे हुन्छ।’
त्यो बसाइ दुवैको लागि उत्साहजनक थियो। प्रकाश काम गर्ने हुटहुटीमा थिए। तर उनलाई शरीरले साथ दिएन।
त्यसको केही समयपछि त प्रकाशले जीवनबाट विश्राम लिए। उनको निधनले तुलसीलाई निकै दिनसम्म विक्षिप्त बनायो। ‘म १० वटा फिल्म बनाएर जान्छु भन्दा उनले भनेका थिए –मभन्दा धेरै पपुलर भइसक्यौ तिमी। त्यसकारण नजाऊ, बस,’ तुलसी सम्झन्छन्, ‘यसरी बस भनेर रोक्ने मान्छे गइसके। जानुपर्ने मान्छे चाहिँ बसिरहेको छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।