काठमाडौँ– गृहमन्त्री रामबहादुर थापा‘बादल’ले महिला हिंसा र बलात्कारका घटनाको न्युनिकरण गर्नका लागि तत्कालै विशेष योजना बनाउन प्रहरीलाई निर्देशन दिएका छन्।
आज गृहमन्त्रालयमा नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई बोलाएर गृहमन्त्री थापाले पछिल्लो समय महिला हिंसा र बलत्कारका घटनाका समाचारले आफ्नो ध्यानाकर्षण भएको भन्दै त्यस्ता घृणीत कार्य रोक्नका लागि विशेष योजना बनाउन आवश्यक रहेको बताए।
बलत्कारका घटना न्युनिकरणका लागि देशव्यापी रुपमा अभिभावक देखि बालबालिका सम्मलाई सचेतनामूलक कार्यक्रम र जागरण अभियान सञ्चालन गर्नुपर्ने गृहले ठहर गरेको उनको सचिवालयद्वारा प्रेस नोटमा उल्लेख छ।
गृहमन्त्री थापाले यस्ता घटनामा मिलापत्र गराउन खोज्नु पनि अपराध भएको भन्दै कहीकतै त्यस्तो भएको भए उनीहरुलाई समेत कारवाहीको दायरामा ल्याउन प्रहरी महानिरीक्षकलाई निर्देशन दिए।
महिला हिंसा र बलत्कारका घटनाका उजुरीमा लापरवाही नगरी गम्भिरता पूवर्क कारवाही अघि बढाउन समेत उनले प्रहरीलाई निर्देशन दिएका छन्।
गृहसचिव प्रेमकुमार राई समेत सहभागी सो छलफलमा गृहमन्त्री थापाले कञ्चनपुरको बालिका मृत्यु घटनाको सत्य, तथ्य बाहिर ल्याउनका लागि गठित छानविन समितिलाई सहयोग पुग्नेगरी सबैपक्षले काम गर्नुपर्ने बताए।
नयाँ अभियान सुरु गर्दै गृह
अनियन्त्रित मदिराको विक्रिवितरण र लागुपदार्थको सेवन लगायतका कारणले बलत्कार र महिला हिंसाको घटना बढेको ठहर गर्दै यस बिरुद्ध गृहमन्त्रालयले अभियान सुरु गर्ने भएको छ ।
गृहले केही दिनभित्रै देशव्यापी रुपमा ‘लागु पदार्थ निषेध र मदिार नियन्त्रण अभियान’ सञ्चालन गर्ने भएको छ । मदिराको व्यवस्थित विक्री वितरण र सेवनसम्बन्धी प्रस्ताव गृहले मन्त्रीपरिषद्मा लैजानका लागि तयार पारेको छ ।
सो प्रस्ताव पारित भए लगत्तै भदौको मसान्तभित्रै यो अभियान घोषणा गर्ने गृहको तयारी छ ।
इन्टरनेट मार्फत अश्लिलता बढेको कारण पनि बलत्कारका घटना बढेकोले यसको नियमनको बारेमा समेत गृहले छलफल सुरु गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।