काठमाडौं- साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा शनिबार काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा बसोबास गर्ने नेवार समुदायले गठामुंग: पर्व मनाउँदैछन्। गठामुंग: घर शान्तिको कामना गर्दै घण्टाकर्णको पूजा गरी मनाउने गरिन्छ।
यो पर्वमा आफ्नो गृह शान्तिको कामना गर्दै आफ्ना परिवारलाई रोगव्याधि नलागोस् भनेर घरघरबाट भूतप्रेतसमेत मन्छाउने चलन छ। भक्तपुरमा यो पर्व विशेष प्रकारले मनाउने गरिन्छ। यहाँको शैली अन्य स्थानका नेवार समुदायको भन्दा भिन्न प्रकारको छ।
यस दिन नेवार समुदायमा एका बिहानै उठेर घरलाई लिपपोट गरी सफा पार्ने र घरका सबै जनाले नुहाएपछि महादेव र नायरायणको मन्दिर पुगेर जल ल्याई आफ्नो घरको सम्पूर्ण भागमा सो जलले छर्केर चोखो बनाउने परम्परा रहेको छ। घर चोखो बनाउने क्रममा दैनिक जीवनमा प्रयोग भइरहेका सम्पूर्ण भाँडाकुँडासमेत धोएर चोखो बनाउनुपर्छ। जल नछर्केसम्म कसैले खान नहुने मान्यता रहेको छ।
घरलाई चोखो बनाएपछि नेवार समुदायले बौ वाय् ज्या (भूत मन्छाउने कार्य) गर्छन्। काँचो माटोको सानो दहीको कटारो वा सलिचा (एक प्रकारको माटोको भाँडो)मा चिउराको ढुटो, जाँडको कट, लसुन, रातो खुर्सानी, कालो भटमास, रङ्गीविरङ्गी ध्वजा, सिन्कामा कपडा बेरेर बनाएको बत्ती बालेर टोल बाहिरको दोबाटो वा चौबाटोमा लगेर राख्ने प्रचलनलाई बौ वाय् ज्याअर्थात् भूत पन्छाउने कार्य भनिन्छ।
बौ वाय् ज्यासँगसँगै घरघरको मूल ढोका र मुख्य निदालमा पञ्चरङ्गी मयूरको प्वाँख र तिन खुट्टे फलामको किला ठोक्छन्। यसले घरमा भूत प्रेत पस्न सक्दैन भन्ने जनविश्वास रहेको छ। घरका साना केटाकेटीलाई फलाम वा तामाको औँठी लगाइदिने चलन पनि रहेको छ। वयस्क युवतीले घण्टाकर्णको दिन विशेष गरी खुट्टामा विभिन्न प्रकारका टाटु खोप्ने प्रचलन पनि रहेको छ।
त्यसैगरी साँझ पख घरघरबाट छ्वाली प्वाः वायगु ज्या (छ्वालीको मुठा बालेर दोबाटोमा फाल्ने कार्य) गर्छन्। छ्वालीको मुठामा कर्कलो, सिस्नो, मकैको घोगा, आरुको बोटको हाँगा, धुँ स्वाँ र बौ स्वाँ नामको विशेष प्रकारको फूलसमेत राखेर सो छ्वालीको मुठालाई बालेर घरको माथिल्लो भागदेखि तल्लो भाग छिँडीसम्म परिक्रमा गराई छ्वास वा दोबाटोमा लगेर सेलाउने गरिन्छ। यसअघि घरका सम्पूर्ण झ्याल ढोकाको कुनाको माटो झिकेर सो माटो झिकेको सानो प्वालमा जौ, तोरीको गेडालगायतका वस्तु राखेर गोबरले लिप्ने प्रचलनसमेत रहेको छ।
घण्टाकर्ण पर्वकै अवसरमा टोलवासीले नर्कट र छ्वावालीको मानवाकृतयुक्त राक्षसको प्रतिक बनाई चोक चोकमा ठड्याएर राख्छन्। सँगसँगै एक व्यक्तिलाई पनि राक्षसको प्रतीक बनाई जगात अर्थात् पैसा उठाउन लगाइने परम्परा रहेको छ। साँझपख सो राक्षसको प्रतीक स्वरुपको नर्कट र छ्वालीको मानवाकृतिलाई विभिन्न बाजागाजाका साथ नजिकको खोला, चौबाटो र नगरबाहिर लगेर जलाउँछन्। यसरी जलाउन लैजाँदा बाजागाजाको तालमा अश्लिल शब्द प्रयोग गर्दै गीत गाउँदै जाने प्रचलन रहेको छ।
यस पर्वलाई किसानले ‘सिनाज्या ब्यंकेगु’ (रोपाइँ कार्य सम्पन्न भएको) र चाडपर्वको सुरुबाट भएको सङ्केत पर्वको रुपमा पनि लिने गर्छन्। नेवार समुदायमा रोपाइँ सकेपछि घर सफा गर्ने, हिलो पखाल्ने पर्वका रुपमा सिनाज्या ब्यंकेगु पर्व मनाउने गरिन्छ।
नेवार समुदायमा घण्टाकर्ण पर्व प्राचीन इतिहासकालदेखि प्रचलनमा रहेको इतिहासविद् एवं संस्कृतिविद् डा पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन्। काठमाडौँ उपत्यकामा करिब दुई हजार वर्षअघिदेखि यो पर्व मनाउँदै आएको उनले बताए। यस पर्वले मानिसमा भएको नकारात्मक सोच र व्यवहार परिवर्तन गर्न उत्प्रेरणा मिल्ने र व्यक्ति, परिवार, समाज र देशमा शान्तिको कामना गर्ने पर्वको रुपमा समेत लिने गरेको संस्कृतिविद् डा श्रेष्ठको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।