काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटमा पारस्परिक भ्रमणपछिको उपलब्धिहरुको मूल्याङकन हुने भएको छ।
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडी राष्ट्रहरुको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा सहभागी हुन मोदी आजै नेपाल आएका छन्। दुवै प्रधानमन्त्रीहरु बीचको औपचारिक भेट भोली हुने तय भएको छ।
प्रधानमन्त्री ओलीले गत चैतमा भारतको भ्रमण गरेका थिए भने भारतीय प्रधानमन्त्री मोदीले बैसाखको अन्तिम साता नेपाल भ्रमण गरेका थिए।
शुक्रबार हुने दुवै देशका प्रधानमन्त्रीहरुको भेटमा भ्रमणपछिका उपलब्धिहरुका विषयमा छलफल हुने तय भएको प्रधानमन्त्री कार्यालयले बताएको हो। गत बैसाखमा भएको मोदीको नेपाल भ्रमणमा असोज २ गते भित्र नेपाल–भारतबीच भएका सबै पूर्व सहमतिहरु कार्यान्वयन गर्ने सहमति भएको थियो।
यस्तै, भेटवार्ताका क्रममा रक्सौल–वीरगन्ज–काठमाडौं रेलमार्ग निर्माणका विषयमा सहमति हुने प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ। भोलि नै भारतीय दूतावासले पाशुपत क्षेत्रमा निमार्ण गरेको धर्मशाला दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।