काठमाडौ- नेपाली सेनाको स्वयम्भू बारुद खाना (जर्मन क्वाटर) को कम्पाउण्ड भित्रबाट मुल सडकसँग जोडिने सडक खुला गरिएको छ। जग्गा एकीकरण आयोजना सञ्चालनको २० वर्षको अवधिसम्म उक्त सडक खुल्न सकेको थिएन।
‘२०७९ साउन ५ गते महानगरपालिकाका प्रमुख एवं आयोजनाका जग्गा व्यवस्थापन उपसमितिका संयोजक बालेन्द्र शाह (बालेन) ले फिल्ड निरीक्षण गरेका थिए। मेयर शाहले नेपाली सेनाले हकभोग गरिरहेको जमिनबाट सडक खोल्नका लागि प्रधान सेनापतिसँग भेटेर समाधानका लागि छलफल गरेसँगै सडक खोलिएको हो। आयोजनाका प्रमुख निर्मलराज बरालका अनुसार हाल क्वाटरको पूर्वतर्फ सिमानाको मुल सडकसँग जोडिने ६ मिटर र उत्तरतर्फ ३ मिटर चौडाइ भएको सडक खोलिएको छ।
काठमाडौँ महानगरपालिका वडा नम्बर १५ र १६ भित्रको पूर्वमा विष्णुमती नदी, पश्चिममा स्वयम्भु भगवान पाउ वनस्थली सडक, उत्तरमा बालाजु-बनस्थली चक्रपथ (ट्र्याक रोड) र दक्षिणमा स्वयम्भू-भगवान पाउ-विजेश्वरी हुँदै शोभा भगवती मन्दिरसम्म फैलिएको भूगोल आयोजना क्षेत्र ह। आयोजनाभित्र करिब १ हजार ३६९ रोपनी जग्गा रहेको छ।
२०६० साल वैशाख ५ गते आयोजना क्षेत्र भित्रको जग्गा अधिग्रहण गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सूचना जारी भएको थियो। त्यसपछि सहरीकरणबाट विकास व्यवस्थापन र सुविधा वितरणमा समानता ल्याउन आयोजना भित्रको ७२ प्रतिशत प्रतिशत जग्गा आवासीय क्षेत्रका लागि छुट्याएर जग्गा विकासको काम थालिएको थियो। यसमा २४.४७ प्रतिशत सडकका लागि, २.०० प्रतिशत पार्क तथा खुला क्षेत्रका लागि, ०.५० प्रतिशत धार्मिक तथा सांस्कृतिक क्षेत्रका लागि र १.०३ प्रतिशत भचाखुशी नदीका लागि छुट्याइएको छ।
आयोजना सुरु हुनुअघि त्यस क्षेत्रमा निजी प्रयोगकर्ताको जग्गाले ९२.४२ प्रतिशत भाग ओगटेको थियो। सडकले ४.६५ प्रतिशत, कुलोले १.१५ प्रतिशत, पर्ती जग्गाले ०.३१ प्रतिशत र भचाखुशी नदी १.४७ प्रतिशत क्षेत्र ओगटेको थियो। एकीकरण योजनाको माध्यमबाट जग्गा विकास गरी सम्बन्धित जग्गा धनी तथा मोहीलाई सुविधा सम्पन्न घडेरी फिर्ता दिनु आयोजनाको मुख्य काम हो।
जग्गा विकास गर्ने क्रममा प्रत्येक जग्गा धनीबाट सेवा शुल्कवापत समानुपातिक प्रतिशतका दरले योगदान लिइएको छ। यो दर भनेको खुला क्षेत्रवापत २.५ प्रतिशत, पूर्वाधार निर्माण वापत ५ प्रतिशत, बाटोवापत ३.३५ प्रतिशत प्रति मिटर सडक र कर्नर प्लटका लागि थप योगदान २.७५ प्रतिशत देखि ९.६ प्रतिशत हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।