काठमाडौं– कोखामा प्रहरीको गोली लागि घाइते भएका वीरेन्द्र जैसीले सोमबारदेखि अनसन तोडेका छन्। २०७३ साल फागुन १ गते घाइते भएका जैसी उपचार तथा क्षतिपूर्तिको माग गर्दै तीन हप्तादेखि अनशनरत थिए।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सोमबार वीरेन्द्र जैसीको अनशन तोडाएका हुन्। वन तस्करी नियन्त्रण गर्ने क्रममा प्रहरीलाई सहयोग गर्न गएका कैलालीका स्थानीय युवा जैसीलाई प्रहरीकै गोली लागेको थियो।
हालसम्म उपचारको एक लाख ९१ हजार खर्च सरकारले बेहोरेको छ। माइतीघरमा अनशन बस्दाबस्दै स्वास्थ्य अवस्था थप जटिल भएपछि सहयोगीहरूले उनलाई वीर अस्पतालमा भर्ना गरेका थिए।
सोमबारदेखि भने नेपाल प्रहरी अस्पतालमा उनको थप उपचार सुरु गरिएको जनाइएको छ। अनशन तोडाउँदै उपप्रधानमन्त्री श्रेष्ठले उनको अबको उपचारको जिम्मा सरकारले लिने, हालसम्मको उपचार खर्च बेहोर्ने र कुनै उपयुक्त रोजगारी समेतको व्यवस्था गरिदिने वचन दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।