काठमाडौं- काठमाडौं जिल्ला अदालतभित्र सवारी साधन पार्किङ गर्न नदिइएको भन्दै कानुन व्यवसायीहरु आन्दोलित भएका छन्। बबरमहलस्थित काठमाडौं जिल्ला अदालत परिसरभित्र काम विशेषले आउने कानुन व्यवसायी र सेवाग्राहीहरुलाई पार्किङ गर्न नदिइएको भन्दै कानुन व्यवसायीहरु आन्दोलित भएका हुन्।
कानुन व्यवसायीले अदालत प्रशासनलाई आम सर्वसाधारणका लागि पार्किङको व्यवस्था गर्न माग गर्दै ज्ञापनपत्र समेत बुझाएका छन्।
अधिवक्ता यज्ञमणि न्यौपानेले अदालतले भित्र पार्किङ गर्न नदिने र महानगरपालिकाले सडक पेटीमा पार्किङ गर्न नदिने हुँदा आम सर्वसाधारण समस्यामा परेका बताए। उनले पार्किङस्थलमा क्यान्टिन सञ्चालन गरिएको भन्दै क्यान्टिन हटाएर पार्किङ गर्न दिइनुपर्ने बताए। अदालतले नक्सा पास बिनाको भवन बनाएर गैरकानुनी काम गरेको पनि उनको आरोप छ।
अर्का एक अधिवक्ताले अदालतभित्रको पार्किङ खुलाउनका लागि पटक पटक आग्रह गर्दा पनि अदालतले नसुनेको बताए। उनले पार्किङस्थललाई क्यान्टिनका लागि भाडा लगाएर असुली गरिरहेको बताए। अधिवक्ताहरुको समस्यालाई नेपाल बार एसोसिएसनले समेत चासो नदेखाएको भन्दै उनले बार र बेञ्चको सेटिङ भएको आरोप लगाए।
काठमाडौं जिल्ला अदालत नेपाल बार एसोसिएसनका अध्यक्ष रामचन्द्र पौडेलले सोमबारदेखि नै जिल्ला अदालतको गेट नम्बर ४ मा कानुन व्यवसायीहरुका लागि पार्किङ सुविधा गरिएको बताए। उनले अण्डरग्राउन्ड पार्किङ पनि छिट्टै खुल्ने पनि बताए। समस्या समाधानका लागि अदालत र बार एसोसिएसनबीच सम्वाद भइरहेको उनले स्पष्ट पारे।
आन्दोलित कानुन व्यवसायीहरुले पार्किङ खुलाउनुपर्ने भन्दै जिल्ला अदालत अगाडि नाराबाजी समेत गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।