काठमाडौं- बानेश्वर व्यापार संघले नयाँ बानेश्वरका सार्वजनिक क्षेत्रमा धूमपान तथा मद्यपान गर्न रोक लगाएको छ। संघका अध्यक्ष नवीन लुइँटेलले सोमबारदेखि उक्त क्षेत्रका सार्वजनिक स्थलहरुमा धूमपान तथा मद्यमान गरेको पाइएमा कार्बाही गरिने बताए। सोमबारदेखि नै ती क्षेत्रका विभिन्न स्थानमा निषेधित बोर्ड राखिने पनि उनले जानकारी दिए।
अध्यक्ष लुइँटेलले नेपाल लाइभसँग भने, ‘भोलिदेखि नै हामीले धूमपान निषेधित अभियानलाई अघि बढाउँदै छौं। सुरुमा सार्वजनिक क्षेत्रमा धूमपान र मद्यपान गर्नेहरुलाई सम्झाउँछौं। नमानेको खण्डमा कडा रुपमा प्रस्तुत हुन्छौं। यस विषयमा महानगर प्रहरीसँग समेत आजै बैठक बसेर अघि बढ्छौं।’
काठमाडौं महानगरपालिकाको आव २०८०/०८१ को नीति तथा कार्यक्रमको ५२ नम्बर बुँदामा सार्वजनिक स्थानहरुमा धूमपान तथा सूर्तिजन्य पदार्थको प्रयोग तथा बेचबिखनलाई पूर्ण रुपमा रोक लगाइने उल्लेख गरिएको महानगरपालिकाका मेयर बालेन शाहका प्रेस सल्लाहकार सुरेन्द्र बजगाईंले जानकारी दिए। उनले भने, ‘सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८’ को व्यवस्था कार्यान्वयन गर्दै हामी सार्वजनिक स्थानहरूमा धूमपान तथा सुर्तीजन्य पदार्थको प्रयोग तथा बेचबिखनलाई पूर्ण रूपमा रोक लगाउँदै छौँ। उक्त ऐनको दफा ११ मा सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थको बिक्री वितरण तथा प्रदर्शनमा बन्देज लगाइएको छ। १८ वर्ष नपुगेका व्यक्ति र गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न वा गर्न लगाउन वा निःशुल्क उपलब्ध गराउन पाइँदैन।’
सुर्तीजन्य पदार्थको बिक्रेताले कुनै क्रेताको उमेरको बारेमा यकिन हुन चाहेमा निजसँग आवश्यक प्रमाण माग गर्न सक्ने व्यवस्था ऐनमा रहेको छ। बिक्रेताले माग गरेको प्रमाण पेस गर्नु सम्बन्धित क्रेताको कर्तव्य हुने ऐनमा नै उल्लेख छ।
सुर्तीजन्य पदार्थप्रति आकर्षण हुने गरी बिक्री स्थल सजावट गर्न तथा त्यस्तो पदार्थको प्रदर्शन गर्न ऐनले निषेध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।